काठमाडौं– नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो वर्ग, मूल विचार र राजनीतिक रणनीतिलाई नजरअन्दाज गर्दा पार्टीले ठूलो मूल्य चुकाउनुपरेको बताएका छन् ।
काठमाडौँमा आयोजित एक विशेष कार्यक्रमलाई सम्बोधन गर्दै उनले पछिल्लो समय पार्टीले दीर्घकालीन रणनीति बिर्सेर केवल सत्ता बनाउने र ढलाउने खेलमा मात्रै केन्द्रित हुनु गम्भीर भुल भएको स्वीकार गरेका छन् ।
सम्बोधनका क्रममा संयोजक प्रचण्डले जनयुद्धकालको स्मरण गर्दै त्यतिबेला सामन्तवादलाई परास्त गर्ने स्पष्ट रणनीति रहेको र त्यसैको प्राप्तिका लागि उपयुक्त कार्यनीति बनाएर अघि बढ्दा सफलता मिलेको उल्लेख गरे । तर, पछिल्लो राजनीतिक यात्रामा भने रणनीतिलाई कार्यनीति र कार्यनीतिलाई रणनीतिजस्तो बनाउने चक्करमा पार्टी फसेको उनको भनाइ थियो ।
‘हामी बढी कार्यनीतिमा अल्झियौँ, सत्ता समीकरण बनाउने र भत्काउने नै कामको केन्द्रबिन्दु बन्न पुग्यो,’ उनले भने । किताबमा लेखे पनि र भाषणमा बोले पनि व्यवहारमा जनतासँगको सामीप्य र सम्बन्ध क्रमशः कमजोर हुँदै जानु नै पार्टीको सबैभन्दा ठूलो त्रुटि भएको उनले बताए ।
यसैबीच, राजनीतिक प्रतिस्पर्धीहरूले भने आफ्ना कार्यनीतिहरू पन्छाएर कम्युनिष्ट शक्तिलाई समाप्त पार्ने एकमात्र दीर्घकालीन रणनीतिमा मात्रै सम्पूर्ण ध्यान केन्द्रित गरेको उनको विश्लेषण थियो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।