काठमाडौ– पूर्वराजा ज्ञानेन्द्र शाह र राप्रपाबाट अलग भएका धवल शमशेर जबराकाबीचमा करिब दुई घण्टा ‘वान टु वान’ कुराकानी भएको छ ।
राप्रपाको महामन्त्री रहेका राणाले केही दिनअघि अलग दल घोषणा गरेका थिए । उनको दलको प्रमुख एजेन्डा नै राजतन्त्र फर्काउने हो ।
जय नेपाल पार्टी खोलेर पहिलो केन्द्रीय कार्यसमिति बैठकसमेत गरिसकेका पूर्वसांसद राणाले पूर्वराजा ज्ञानेन्द्रसँग भेट भएको र करिब दुई घण्टा कुराकानी गरेका नेपाल लाइभलाई बताए । उनीहरुको भेट काठमाडौंस्थित सोल्टी होटलमा शनिबार भएको हो ।
हिमानी ट्रस्टले आयोजना गरेको कार्यक्रमका उनीहरू सहभागी थिए। सोही क्रममा समय निकालेर सभापति राणा र पूर्वराजा शाहबीच 'वान टू वान' दुई घण्टा कुराकानी भएको जय नेपाल पार्टीका अर्का नेता सगुनसुन्दर लावतीले बताए ।
पार्टीका सचिवालय प्रमुख रहेका लावतीले पूर्वराजा शाह र सभापति राणाबीच समसामयिक राजनीतिक घटनाक्रम देखि धेरै विषयमा कुराकानी भएको छ । उनले भेट फलदायी र अर्थपूर्ण भएको दाबी गरे ।
सभापति राणाले करिब दुई घण्टा चलेको छलफलमा जय नेपाल पार्टी गठन, यसका उद्देश्य र मुलुकको समसामयिक राजनीतिक घटनाक्रमबारे कुराकानी भएको छ ।
समसामयिक राजनीतिक र सामाजिक अवस्थाका बारेमा लामो कुराकानी भएको उनले बताए । नयाँ पार्टी गठन भएको विषयमा पूर्वराजाले शुभकामना दिएको र केही राय सल्लाह पनि दिएको उनले बताए । पूर्वराजा शाहले सभापति राणालाई सबैलाई समेटेर अघि बढ्न सुझाव दिएका छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।