ललितपुर– नम्बर प्लेट नलिएको ‘अन टेस्ट’ ईभी हाइस दुर्घटना हुँदा चालकसहित चार जना घाइते भएका छन्। घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।
महालक्ष्मी नगरपालिका–८ लुभुको नरकट्टेमा अनियन्त्रित भएको हाइस घरको गेटमा ठोक्किको हो। घटनामा गेटछेउमा पार्किङ गरिएको बा १८ च ९२८८ नम्बरको कारमा समेत ठोक्किएको थियो। दुर्घटनामा कारमा सामान्य क्षति पुगेको छ।
दुर्घटनामा महालक्ष्मी नगरपालिका–८ लुभुका हाइस चालक २६ वर्षीय अखिल राजथला र महालक्ष्मी नगरपालिका–७ चागाथलीका २५ वर्षीय आशिष महर्जन गम्भीर घाइते भएका छन्। राजथलाको किस्ट अस्पताल र महर्जनको बी एन्ड बी अस्पतालमा उपचार भइरहेको छ।
यस्तै, मकवानपुर घर भई हाल महालक्ष्मी नगरपालिका–६ सानागाउँ बस्ने १८ वर्षीया एलिसा लामा मध्यम घाइते भएकी छन्। उनको किस्ट अस्पतालमा उपचार भइरहेको छ।
महालक्ष्मी नगरपालिका–८ लुभुका २६ वर्षीय राज महर्जन भने सामान्य घाइते भएका छन्। उनको पनि किस्ट अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
हाइसमा चार जना मात्र सवार रहेको थियो। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।