काठमाडौं। नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बाराको सिमरामा बलात्कारपछि हत्या गरिएकी तीन वर्षीया बालिका गरिमा चौधरीको घटनामा संलग्न दोषीलाई कडा कानुनी कारबाही गर्न माग गरेका छन्।
शनिबार सामाजिक सञ्जालमार्फत उनले गरिमाको घटनाले आफूलाई स्तब्ध र आक्रोशित बनाएको बताएका हुन्। ‘तीन वर्षीया अबोध बालिका गरिमा चौधरीको हृदयविदारक घटनाले हामी सबैलाई स्तब्ध र आक्रोशित बनाएको छ। यस्ता जघन्य अपराध कुनै पनि सभ्य र संवेदनशील समाजका लागि कदापि स्वीकार्य हुन सक्दैनन्,’ उनले भनेका छन्।
गरिमाका लागि न्याय माग्दै काठमाडौंको माइतीघर मण्डलासहित देशका विभिन्न स्थानमा युवाहरूले उठाएको आवाजप्रति पूर्ण ऐक्यबद्धता जनाउँदै बालबालिकाको सुरक्षाका लागि राज्य गम्भीर बन्नुपर्नेमा उनले जोड दिएका छन्।
‘गरिमामाथिको अपराध एउटा परिवारमाथिको मात्रै पीडा नभई राज्य, समाज र न्याय प्रणालीमाथिकै गम्भीर प्रश्न भएको बताइएको छ। छोरीहरूलाई भयमुक्त वातावरणमा बाँच्न, सुरक्षित हुन र आफ्नो भविष्य निर्माण गर्न पाउने अधिकार सुनिश्चित गर्नु राज्यको सर्वोच्च दायित्व हो,’ उनले लेखेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।