काठमाडौं – नेपाली कांग्रेसका सभापति गगन थापाले बाराको जितपुरसिमरा–१ की ३ वर्षीया बालिका गरिमा चौधरीमाथि भएको जघन्य अपराध र हत्याप्रति गहिरो दुःख व्यक्त गर्दै घटनाको निष्पक्ष र प्रभावकारी अनुसन्धान गरी दोषीलाई कानुनबमोजिम कारबाही गर्न सरकारसँग माग गरेका छन्।
शुक्रबार सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै थापाले गरिमाप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना व्यक्त गरेका छन्।
गरिमा हराएको दिनदेखि नै परिवारले राज्यको साथ र सहयोग खोजिरहेको उल्लेख गर्दै थापाले सरकारमाथि प्रश्नसमेत उठाएका छन्।
‘के सरकारले यो परिवारको पीडा बुझेको छ? राज्यप्रति उनीहरूले राखेको आशा र भरोसाको गम्भीरता महसुस गरेको छ?’ थापाले प्रश्न गरेका छन्।
उनले घटनाको तत्काल निष्पक्ष र प्रभावकारी अनुसन्धान गरी दोषीलाई कानुनअनुसार सजाय दिलाउन सरकार गम्भीरतापूर्वक अघि बढ्नुपर्ने बताएका छन्।
यस्ता घटना पुनः दोहोरिन नदिन सुरक्षा संयन्त्रलाई थप प्रभावकारी, संवेदनशील र जवाफदेही बनाउन तत्काल कदम चाल्नुपर्नेमा पनि थापाले जोड दिएका छन्।
गरिमा घटनाले बालिका तथा किशोरीको सुरक्षाका लागि राज्यले अझै धेरै काम गर्न बाँकी रहेको पुनः स्मरण गराएको थापाको भनाइ छ।
‘हरेक बालिका सुरक्षित, संरक्षित र न्यायप्रति विश्वस्त हुने वातावरण नबन्दासम्म हाम्रो जिम्मेवारी पूरा भएको मान्न सकिँदैन,’ उनले भनेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।