काठमाडौँ – नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा र निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पेस गरेको रिट सर्वोच्च अदालतमा शुक्रबार दर्ता भएन ।
संस्थापनले एकलौटी रूपमा अगाडि बढाएको पार्टीको १५ औँ महाधिवेशनको प्रक्रिया रोक्न माग गर्दै दायर रिट दर्ता नभएकाे हाे ।
दिउँसो खाजा समय पछि पेस गरिएका छुट्टाछुट्टै रिट शुक्रबार अध्ययन नसकिएको भन्दै सर्वोच्च प्रशासनले दर्ता नगरेको हो । तर, दर्ता नहुनुको कारण अर्कै छ ।
निकटस्थ स्रोतका अनुसार शुक्रबार सर्वोच्च अदालतमा प्रधानन्यायाधीश डा.मनोज शर्मा र मुख्य रजिस्टार विमल पौडेल थिएनन् । महत्त्वपूर्ण रिट रहेको र प्रशासनको प्रमुख र प्रधानन्यायाधीश नै नभएकाले दर्ता नगरिएको स्रोतले बतायो ।
सर्वोच्च प्रशासनले रिट पेस गर्नेहरूलाई सोमबार आउन भनेको छ ।
देउवा र खड्काले आफ्ना तर्फबाट वारेस पठाएर रिट पेस गराएका थिए। देउवाको तर्फबाट कांग्रेस नेता दीपक खड्का सर्वोच्च पुगेका थिए भने पूर्णबहादुर खड्काको तर्फबाट अधिवक्ता श्रवणकुमारले निवेदन पेस गरेका थिए। उनीहरूले छुट्टाछुट्टै रिटमार्फत महाधिवेशनसम्बन्धी विवादलाई न्यायिक प्रक्रियामा प्रवेश गराएका हुन्।
देउवा–खड्का पक्षको मुख्य आपत्ति कांग्रेसको महाधिवेशन प्रक्रिया अघि बढाउने क्रममा सबै पक्षसँग पर्याप्त छलफल नगरिएको र पार्टीभित्रको विवाद समाधान नगरी एकतर्फी रूपमा कार्यतालिका अघि बढाइएको भन्नेमा केन्द्रित छ।
विशेष महाधिवेशनबाट गगन थापा नेतृत्वको नयाँ कार्यसमिति बनेपछि कांग्रेसको वैधानिकता र नेतृत्वसम्बन्धी विवाद अदालतसम्म पुगेको थियो। त्यससम्बन्धी विवादको कानुनी प्रक्रिया अझै पूर्ण रूपमा टुंगो नलागेको अवस्थामा नयाँ महाधिवेशनको प्रक्रिया अघि बढाउनु उचित नहुने देउवा–खड्का पक्षको तर्क छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।