काठमाडौं– संसदीय सुनुवाइ समितिमा नेपाली सेना र राष्ट्रिय सुरक्षासँग जोडिएको गम्भीर प्रकृतिको उजुरी परेको छ।
शुक्रबार सिंहदरबारमा बसेको समितिको बैठकले उक्त उजुरीलाई आवश्यक कारबाहीका लागि सचिवालयमार्फत सम्बन्धित मन्त्रालयमा पठाउने निर्णय गरेको हो।
बैठकपछि निर्णयहरू सार्वजनिक गर्दै समिति सभापति वोधनारायण श्रेष्ठले सेना र सुरक्षासँग जोडिएको गम्भीर प्रकृतिको उजुरी प्राप्त भएको जानकारी दिए।
उक्त विषय रक्षा वा गृह कुन मन्त्रालयसँग बढी सम्बन्धित छ भन्ने विषयमा विस्तृत अध्ययन गरी आवश्यक प्रक्रिया अघि बढाउन समितिको सचिवालयलाई जिम्मेवारी दिइएको छ। सभापति श्रेष्ठकाअनुसार समितिमा प्राप्त उजुरी र त्यसको सुनुवाइ प्रक्रियाका क्रममा उठेका प्रश्नहरूबारे पनि बैठकमा छलफल भएको थियो। प्रस्तावित व्यक्तिको सुनुवाइका क्रममा माग गरिएका सूचनाहरूका सम्बन्धमा समितिले स्पष्ट पारेको छ। सुनुवाइ प्रक्रिया प्रत्यक्ष प्रसारण (लाइभ) र रेकर्ड हुने भएकाले सम्बन्धित व्यक्तिले रेकर्डबाटै आवश्यक जानकारी लिन सक्ने समितिको निष्कर्ष छ।
यस्तै, समिति सदस्यहरूले गर्ने व्यक्तिगत अध्ययनको विषय नितान्त निजी हुने भएकाले त्यसको जानकारी सार्वजनिक गरिरहनु नपर्ने र सूचनाको हकसम्बन्धी विषयमा प्रचलित कानून बमोजिम नै प्रक्रिया अघि बढ्ने सभापति श्रेष्ठले बताए।
बैठकले आगामी १८ र १९ गते समितिका सदस्यहरूका लागि आयोजना गरिने अभिमुखीकरण कार्यक्रमको स्थान र विषयवस्तु तय गर्ने जिम्मेवारी समेत सचिवालयलाई सुम्पिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।