जाजरकोट– जाजरकोटको भेरी नगरपालिका–२ रिसाङमा बाढी तथा पहिरोबाट विस्थापित भएका स्थानीयका लागि नेपाली सेनाले बोकेर राहत सामग्री पुर्याएको छ।
पहिरोले यातायात सञ्चालन हुने सडक नै बगाएपछि सदरमुकामबाट सवारीसाधनमार्फत राहत सामग्री प्रभावित क्षेत्रमा पुर्याउन समस्या भएको थियो।
सडक अवरुद्ध भएपछि नेपाली सेनाको भवानी दल गणले राहत सामग्री बोकेर रिसाङ तथा आसपासका प्रभावित बस्तीमा पुर्याएको हो।
आजै भवानी दल गणमा कार्यरत महिला सैनिकहरूले समेत रिसाङ र आसपासका पहिरो प्रभावित स्थानीयका लागि राहत सामग्री बोकेर ढुवानी गर्न तथा वितरणमा सहयोग गरेका छन्। सडकको पहुँच नहुँदा पैदलमार्फत जोखिमपूर्ण बाटो हुँदै राहत सामग्री प्रभावित बस्तीमा पुर्याइएको नेपाली सेनाले जनाएको छ।
बाढी तथा पहिरोका कारण विस्थापित स्थानीयहरू विद्यालय तथा अस्थायी आश्रयस्थलमा बसिरहेका छन्। सडक अवरुद्ध हुँदा खाद्यान्न, त्रिपाल, कम्बललगायत अत्यावश्यक सामग्री प्रभावितसम्म पुर्याउन कठिनाइ भइरहेको अवस्थामा सेनाको सहयोगले राहत वितरणमा सहजता भएको स्थानीयले बताएका छन्।
पहिरोबाट प्रभावित क्षेत्रमा उद्धार, राहत तथा पुनःस्थापनाका लागि सुरक्षा निकाय, स्थानीय तह र अन्य निकायले समेत निरन्तर काम गरिरहेका छन्। जोखिमपूर्ण अवस्थामा रहेका स्थानीयलाई सुरक्षित स्थानमा राख्ने तथा आवश्यक राहत सामग्री उपलब्ध गराउने कामलाई प्राथमिकता दिइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।