काठमाडौं– नेकपा एमालेका प्रदेश सांसद किरण थापामगर बागमती प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका छन् । उनी एमाले, नेकपा र राप्रपाको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका हुन् ।
बिहीबार प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले नेपालको संविधानको धारा १६८ को २ अनुसारको सरकार गठनमा दाबी गरेका थापालाई मुख्यमन्त्री नियुक्त गरेका हुन् ।
६३ सांसदको समर्थनमा सरकार गठनका लागि दाबी गरेका थापाको नियुक्ति भएको छ । यता सरकारलाई समर्थन गरेको राप्रपाभित्र भने विवाद देखिएको छ । पार्टीको निर्देशनविरीत सरकारलाई समर्थन गरेपछि राप्रपाले प्रदेश सभा संसदीय दलका नेता उद्धव थापालाई पार्टी सदस्यबाटै निस्काशन गरेको छ । विवादकै बीच राप्रपाका १२ सांसदले किरणलाई समर्थन दिएका छन् ।
यसअघि बागमती प्रदेशका निवर्तमान मुख्यमन्त्री इन्द्रबहादुर बनियाँले भदौ १ मा संसद्बाट विश्वासको मत नपाउने भएपछि राजीनामा दिएका थिए । त्यस लगत्तै प्रदेश प्रमुख देवकोटाले नयाँ सरकार गठनका लागि आह्वान गर्दै भदौ ४ गते ४ बजेसम्मको समयसीमा दिएका थिए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।