काठमाडौं– नेपाली कम्युनिस्ट पार्टीका नेता युवराज दुलालले मुलुकमा भ्रष्टाचार बढ्नुमा कार्यपालिका, न्यायपालिका र महालेखा परीक्षकको कार्यालयसमेत जिम्मेवार रहेको बताएका छन्।
संसद्को राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै दुलालले भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गर्ने जिम्मेवारी अख्तियार दुरुपयोग अनुसन्धान आयोगको मात्रै नभएको बताएका हुन्।
उनले भ्रष्टाचारको प्रवृत्ति बढ्नुका पछाडि तीनवटै निकायको भूमिका रहने भन्दै कार्यपालिका बलियो र सुशासनप्रति व्यावहारिक रूपमा प्रतिबद्ध भए भ्रष्टाचारजन्य घटना घट्न सक्ने धारणा राखे।
न्यायपालिका जिम्मेवार भएर सुशासन कायम गर्न चाहने हो भने दोषीलाई कारबाही गर्न सकिने र महालेखा परीक्षकको कार्यालयले प्रभावकारी रूपमा परीक्षण गरे दोषी उम्कन नसक्ने उनको भनाइ थियो।
‘भ्रष्टाचार बढी हुनुमा कार्यपालिका जिम्मेवार छ, न्यायपालिका पनि जिम्मेवार छ, र महालेखा परीक्षकको कार्यालय पनि जिम्मेवार छ,’ दुलालले भने।
उनले अहिले आफ्नो अनुभव र ज्ञानका आधारमा यी तीनवटै निकायमा समस्या रहेको दाबी गरे। भ्रष्टाचार नियन्त्रणलाई अख्तियारको एकल जिम्मेवारीका रूपमा बुझ्न नहुने उनको भनाइ थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।