काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद अमरेशकुमार सिंहले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको संवैधानिक हैसियत र संस्थागत स्वायत्ततामाथि प्रश्न उठाउँदै आयोगको कामकारबाहीमा स्वतन्त्रता र निष्पक्षता कायम हुनुपर्ने बताएका छन्।
संसद्को राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै सिंहले अख्तियार संवैधानिक निकाय भएकाले उसको संस्थागत भूमिका र स्वतन्त्रतामाथि कुनै प्रश्न उठ्ने अवस्था सिर्जना हुन नहुने धारणा राखेका हुन्।
उनले अख्तियारका पदाधिकारी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुगेको घटनालाई समेत प्रश्नको विषय बनाए। अख्तियार प्रधानमन्त्री कार्यालय अन्तर्गतको संरचना नभई संवैधानिक आयोग भएकाले त्यसको संस्थागत मर्यादा र स्वायत्ततालाई ध्यान दिनुपर्ने उनको भनाइ थियो।
गत असारको पहिलो साता अख्तियारका सबै पदाधिकारी प्रधानमन्त्री कार्यालय पुगेको घटनालाई लिएर समेत प्रश्न उठेको थियो। त्यस क्रममा प्रधानमन्त्री वालेन्द्र शाहका सहयोगीहरूले अख्तियारका पदाधिकारीलाई कार्यालयमा लामो समय राखेर सोधपुछ गरेको दाबी सार्वजनिक भएपछि आयोगको स्वतन्त्रताबारे बहस भएको थियो।
सोही घटनाको सन्दर्भ उल्लेख गर्दै सांसद सिंहले अख्तियारमाथि कार्यपालिका प्रभावको आशंका उत्पन्न हुने गतिविधि हुन नहुनेतर्फ सरकार तथा सम्बन्धित निकायको ध्यानाकर्षण गराएका हुन्।
सरकारका कामकारबाहीमा निगरानी तथा नियन्त्रण र सन्तुलन कायम गर्न संवैधानिक रूपमा स्थापित आयोगको संस्थागत स्वायत्तता कायम राख्नु आवश्यक रहेको सिंहको जोड छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।