काठमाडौँ– राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) ले पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको आकस्मिक बैठक बस्दैछ।
दिउँसो १२ बजे केन्द्रीय कार्यालय धुम्बाराहीमा बैठक बोलाएको प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिए।
पार्टीको निर्णय विपरीत बागमती प्रदेशमा संसदीय दलका नेता उद्धव थापाले नेकपा एमालेबाट मुख्यमन्त्रीको उम्मेदवार रहेका किरण थापालाई समर्थन गरेको विषयमा निर्णय लिन बैठक बोलाइएको श्रेष्ठले बताए।
श्रेष्ठका अनुसार पार्टीको निर्णयविपरीत एक जना सांसदले गरेको समर्थनलाई संसदीय दलको समर्थन मान्न नसकिने पार्टीको धारणा छ। उनका अनुसार थापालाई १२ घण्टे स्पष्टीकरण सोधिएको छ।
‘पार्टीको निर्णय विपरीत बागमतीमा संसदीय दलको नेताले एमाले नेतृत्वको सरकारलाई समर्थन गरेको छ। कुनै एक व्यक्तिले गरेको समर्थनलाई संसदीय दलको समर्थन भन्न मिल्दैन। एकजनाले मात्र समर्थन गरेर सरकार बन्दैन’, श्रेष्ठले भने– ‘उहाँलाई पार्टीले १२ घण्टे स्पष्टीकरण सोधेको छ। त्यतिबेलासम्म चित्तबुझ्दो जवाफ आएन भने कारबाही गर्छौँ। त्यसका लागि अहिले ११ बजे केन्द्रीय अनुशासन आयोगको बैठक बोलाइएको छ।’
चित्तबुझ्दो जवाफ नआए थापामाथि कारबाही गर्ने तयारी राप्रपाको छ। त्यसका लागि केन्द्रीय अनुशासन आयोगको बैठकसमेत बोलाइएको छ।
राप्रपाभित्रको यही विवादका कारण बागमती प्रदेशको मुख्यमन्त्रीमा पार्टीका तर्फबाट दाबी पेस गर्ने तयारीसमेत अन्योलमा परेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।