काठमाडौं– सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सांसद र मन्त्रीहरुलाई अमर्यादित गतिविधि नगर्न निर्देशन दिएका छन् ।
बुधबार सभापति लामिछानेले सांसद र मन्त्रीहरुसँग छलफल गरेका थिए । तर उक्त बैठकमा संसदीय दलका नेता तथा प्रधानमन्त्री बालेन्द्र शाह उपस्थित थिएनन् ।
सदनमा आफ्नै सांसदहरुबाट मन्त्रीहरुमाथि प्रश्न उठिरहेकाले कार्यशैली बदल्न मन्त्रीहरुलाई निर्देशन दिएका छन् । साथै उनले विगतमा पनि शक्तिशाली सरकारविरुद्ध प्रतिपक्षी दलहरु एक ठाउँमा उभिएको स्मरण गराउँदै शक्तिशाली भएको दम्भ सदन र सार्वजनिक स्थानहरुमा नदेखाउन मन्त्री र सांसद दुवैलाई कडा निर्देशन दिएका छन् ।
उनले सदनमा नियमित हुन र बोल्ने कुराहरुमा मर्यादा अपनाउन भनेका छन् । सदनमा अमर्यादित गतिविधि गरेर रमिता नदेखाउन चेतावनीसहितको निर्देशन दिएको बैठकमा सहभागी एक सांसदले जानकारी दिए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।