काठमाडौं– नेपालमा खाना पकाउने ग्यासको आयात तथा बिक्री साउन महिनामा उल्लेख्य रूपमा बढे पनि बजारमा अभाव कायमै देखिएको छ।
नेपाल आयल निगमका अनुसार साउनमा मात्रै ५७ हजार ३ सय १६ टन ग्यास आयात तथा बिक्री भएको छ। यो ४० लाख ३६ हजार ३ सय ६४ सिलिन्डर बराबर हो।
असारमा ३१ लाख ३६ हजार ९ सय ३७ सिलिन्डर बराबर ग्यास आयात तथा बिक्री भएको थियो। त्यसको तुलनामा साउनमा करिब ९ लाख सिलिन्डर बढी ग्यास बजारमा गएको निगमको तथ्यांकले देखाउँछ।
निगमका अनुसार चैत २०८२ मा २७ लाख ३२ हजार ३ सय ५५ सिलिन्डर बराबर ग्यास आयात तथा बिक्री भएको थियो। वैशाखमा यो घटेर २२ लाख ५७ हजार ४ सय ९६ र जेठमा २३ लाख १२ हजार ८ सय ३७ सिलिन्डरमा सीमित भएको थियो।
त्यसपछि असारदेखि ग्यासको आयात तथा बिक्री बढ्दै गएको देखिन्छ। साउनमा हालसम्मकै तुलनात्मक रूपमा उच्च परिमाणमा ग्यास बजारमा पठाइए पनि विभिन्न क्षेत्रमा अभावको समस्या देखिएको छ।
निगमले आगामी दिनमा ग्यासको आयात अझ बढ्ने जनाएको छ। आवश्यकताअनुसार मात्र ग्यास खरिद गर्न र अनावश्यक रूपमा भण्डारण नगर्न निगमले उपभोक्तालाई आग्रह गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।