काठमाडौं– मुख्यसचिव गोविन्दबहादुर कार्कीको अध्यक्षतामा बसेका सरकारका सचिवहरुको संयुक्त बैठकले १० बुँदे निर्णय गरेको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा यही भदौ १ गते बसेको बैठकले प्रशासनिक सुधार, कानुन परिमार्जन, विकास निर्माणललाई गति दिनेलगायतका छन् ।
निर्णयको पहिलो बुँदामा प्रत्येक महिनाको २७ गतेभित्र सचिव बैठकले गरेको निर्णय कार्यान्वयनको प्रगति विवरण प्रधानमन्त्री कार्यालयमा पठाउनुपर्ने उल्लेख छ । त्यस्तै, सबै मन्त्रालय तथा निकायले चालु आर्थिक वर्ष २०८३–८४ को कार्ययोजनाका क्रियाकलाप र माइलस्टोल तोकिएको समयभित्रै सम्पन्न गर्ने व्यवस्था मिलाउने, नागरिकले अनुभूति गर्ने तत्काल सुधार गर्नुपर्ने विषय क्षेत्रका अवधारणा पत्रलाई आवश्यकताअनुसार परिमार्जन गरी यथाशीघ्र कार्यान्वयनमा लैजाने निर्णय भएको छ ।
निजामती सेवा दिवसलाई तीन तहको सरकारमा मनाउनेगरी खाका तयार गरी तीन दिनभित्र प्रधानमन्त्री कार्यालयमा पेश गर्ने जिम्मेवारी भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई दिइएको छ । खाका प्राप्त भएपछि मुख्यसचिव नेतृत्वको बैठकले कार्यक्रमको अन्तिम टुंगो लगाउनेछ ।
सम्पत्ति शुद्धिकरणको ग्रे–लिष्टबाट निस्कनका लागि तर्जुमा गरिएको कार्ययोजनाको सम्बद्ध निकायले प्रभावकारी कार्यान्वयन गर्ने, प्रधानमन्त्री कार्यालयले जारी गरेको शासकीय सुधारसम्बन्धी कार्यविधि, मार्गदर्शन, निर्देशन तथा परिपत्र आदिको कार्यान्वयनका लागि सबै मन्त्रालय–निकायले समिक्षा गरी निरन्तर रुपमा काममा लाग्ने निर्णय भएको छ ।
शासकीय सुधारलाई प्रक्रियागत अनुपालनमा मात्र सीमित नराखी सेवा प्रवाह, विकास व्यवस्थापन, पारदर्शिता, उत्तरदायित्व, डिजिटल कार्यप्रवाह तथा सार्वजनिक खर्चको प्रभावकारितासँग आबद्ध गरी कार्यान्वयन गर्ने भनिएको छ ।
बैठकले नेपालको संविधानको धारा ५३ बमोजिम नेपाल सरकारको वार्षिक प्रतिवेदन तयार गर्नका लागि आवश्यक पर्ने विवरण भदौ ८ गतेभित्र प्रधानमन्त्री कार्यालयमा पेश गरिसक्नुपर्ने समयसीमा तोकेको छ । त्यसैगरी, सरकारको नीति तथा कार्यक्रममा समावेश भएको ‘शून्य दिन खरिद नीति’ अन्तर्गत हालसम्म खरिद प्रक्रिया प्रारम्भ नभएका कार्यक्रम–आयोजनाका निम्ति तत्काल सार्वजनिक खरिद प्रक्रिया अगाडि बढाउने निर्णय गरिएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।