काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना सांसदलाई थप जिम्मेवार र प्रभावकारी बनाउने उद्देश्यसहित संसदीय दलको विधान संशोधन गर्ने तयारी गरेको छ ।
विधान संशोधनका लागि रास्वपाले मुख्य सचेतकको संयोजकत्वमा कार्यदल गठन गरेको छ । आज बसेको संसदीय दलको बैठकले कार्यदल गठन गर्ने निर्णय गरेको उपनेता गणेश पराजुलीले जानकारी दिए ।
पराजुलीका अनुसार कार्यदललाई सात दिनभित्र विधानको आवश्यक संशोधन गरी त्यसअनुसारको कार्यविधि तयार गर्ने जिम्मेवारी दिइएको छ ।
संसदमा सांसदको मर्यादा कायम राख्ने, उनीहरूको जिम्मेवारी स्पष्ट गर्ने तथा जनपक्षीय आवाज उठाउने र कानुन निर्माण प्रक्रियामा प्रभावकारी भूमिका निर्वाह गर्न सक्ने गरी विधान संशोधन गरिने उनले बताए।
सांसदहरूको भूमिकालाई थप व्यवस्थित र प्रभावकारी बनाउन आवश्यक देखिएका विषय समेटेर विधान परिमार्जन गरिने रास्वपाले जनाएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।