काठमाडौं –अधिवक्ता डा. प्रेमराज सिलवालले सर्वोच्च अदालत प्रशासनले रिट दर्ता गर्न नमानेपछि प्रधानन्यायाधीशसमक्ष हुलाकमार्फत निवेदन पेश गरेका छन्।
सिलवालले २०८३ साल असार २६ गते पेश गरेका दुई वटा रिट निवेदनमाथि संयुक्त इजलासले मुद्दा पूर्ण इजलासमा पेश गर्ने आदेश गरेको दाबी गरेका छन्। तर सर्वोच्च अदालत प्रशासनले टिप्पणी र आदेशमार्फत मुद्दालाई संवैधानिक इजलासमा पठाउने निर्णय गरेको भन्दै उनले आपत्ति जनाएका छन्।
उक्त निर्णय संयुक्त इजलासको आदेशको प्रतिकूल भएको तथा संवैधानिक इजलासको गठन वरिष्ठताको आधारमा वा गोला प्रथाबाट मात्र हुनुपर्ने मागसहित आफूले भदौ १ गते दुई वटा रिट पेश गरेको उनले निवेदनमा उल्लेख गरेका छन्।
तर सर्वोच्च प्रशासनले ती रिट दर्ता गर्न नमानेको र कानुनबमोजिम दरपीठसमेत नगरेको उनको भनाइ छ। अन्य कानुनी तथा वैधानिक उपाय बाँकी नरहेको भन्दै उनले हुलाकमार्फत प्रधानन्यायाधीशसमक्ष निवेदन पठाएका हुन्।
सिलवालले आफ्नो रिट दर्ता गरी सुनुवाइ प्रक्रियामा लैजान प्रधानन्यायाधीशसमक्ष आग्रह गरेका छन्।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।