काठमाडौं– नेपाली कांग्रेसले पार्टीको महाधिवेशन प्रक्रिया नरोक्ने भएको छ। पार्टीको आधिकारिकता विवादसम्बन्धी अन्तिम फैसला आउन बाँकी रहेकै अवस्थामा संस्थापन पक्षले महाधिवेशनको नयाँ निर्वाचन कार्यतालिका सार्वजनिक गरेको हो।
केन्द्रीय निर्वाचन समितिका संयोजक प्रेमबहादुर खड्काले नयाँ निर्वाचन कार्यतालिका सार्वजनिक गर्दै निर्धारित मितिमै महाधिवेशन प्रक्रिया अघि बढाउने जानकारी दिएका छन्।
नयाँ तालिकाअनुसार भदौ २ देखि १० गतेसम्म निर्वाचन प्रतिनिधिलाई काठमाडौं उपत्यका तथा उपत्यकाबाहिर अभिमुखीकरण तालिम दिइनेछ। भदौ ११ गते निर्वाचन अधिकृतलाई जिल्लामा खटाइनेछ भने भदौ १५ गते वडामा निर्वाचन प्रतिनिधि खटाइनेछ।
वडामा निर्वाचन प्रतिनिधिका लागि भदौ १६ देखि २० गतेसम्म अभिमुखीकरण तालिम सञ्चालन हुनेछ। सम्पन्न हुन बाँकी नेपाली जनसम्पर्क समितिका अधिवेशनहरू भदौ मसान्तभित्र सम्पन्न गरिसक्ने कार्यतालिका छ।
कांग्रेसको नयाँ महाधिवेशन कार्यतालिका
मिति कार्यक्रम
भदौ २–१० निर्वाचन प्रतिनिधिलाई अभिमुखीकरण तालिम
भदौ ११ निर्वाचन अधिकृत जिल्लामा खटाउने
भदौ १५ वडामा निर्वाचन प्रतिनिधि खटाउने
भदौ १६–२० वडामा अभिमुखीकरण तालिम
भदौ मसान्तभित्र बाँकी नेपाली जनसम्पर्क समितिका अधिवेशन सम्पन्न
भदौ २४ गाउँ/नगर वडा अधिवेशन, ६ हजार ७४३ वटै वडामा क्षेत्रीय प्रतिनिधि चयन
भदौ २७ गाउँ/नगरपालिका अधिवेशन
भदौ ३१ प्रदेश सभा क्षेत्रीय अधिवेशन
असोज ३ प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन तथा एकमात्र निर्वाचन क्षेत्र भएका जिल्लामा जिल्ला अधिवेशन; महाधिवेशन प्रतिनिधि चयन र कार्यसमिति निर्वाचन
असोज ७ जिल्ला अधिवेशन
असोज १० प्रदेश अधिवेशन
असोज १६–१९ केन्द्रीय महाधिवेशन
नयाँ तालिकाअनुसार कांग्रेसको केन्द्रीय महाधिवेशन असोज १६, १७, १८ र १९ गते आयोजना हुनेछ। यससँगै पार्टीले वडा तहदेखि केन्द्रसम्मका अधिवेशन प्रक्रिया निर्धारित समयमै अघि बढाउने तयारी गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।