काठमाडौं – नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्र देखिएका असन्तुष्टि र मतभेद समाधानका लागि आफू निरन्तर संवादमा रहेको बताएका छन्।
पार्टी कार्यालयमा आयोजित कार्यक्रममा बोल्दै सभापति थापाले सदस्यता व्यवस्थापन, निर्वाचन समिति गठनलगायत विषयमा असन्तुष्ट पक्षसँग छलफल गर्न आफू तयार रहेको बताए।
उनले पार्टीभित्र छलफल र संवादका लागि आफू खुला रहे पनि अब समयको चाप रहेकाले निर्धारित प्रक्रियाअनुसार अघि बढ्नुपर्ने अवस्था रहेको स्पष्ट पारे।
‘हाम्रा बीचमा छलफल चल्ने एउटा पाटो भयो। तर अब हामीसँग समयको सुविधा छैन,’ थापाले भने, ‘हामी संविधानले बाँधिएका छौँ, पार्टीको विधानले बाँधिएका छौँ र विशेष महाधिवेशनले गरेको निर्णयले पनि बाँधिएका छौँ।’
सभापति थापाले नेपाली कांग्रेसको आगामी केन्द्रीय महाधिवेशन असोज १६ गतेदेखि काठमाडौंमा हुने जानकारी दिए। उनका अनुसार सोहीअनुसार आजदेखि महाधिवेशनको प्रक्रिया औपचारिक रूपमा सुरु भएको छ।
उनले महाधिवेशनको कार्यतालिका सबैले पालना गर्नुपर्ने भन्दै तोकिएको मितिमा कुनै ठूलो हेरफेर नहुने संकेत गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।