काठमाडौँ– कम्बोडियामा निधन भएका धादिङका सन्तोष राईको शव नेपाल ल्याउने विषयमा परराष्ट्रमन्त्री शिशिर खनालले दिएको जवाफप्रति असन्तुष्टि जनाउँदै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद आशिका तामाङले प्रतिनिधिसभा बैठक बहिस्कार गरेकी छन्।
मंगलबारको बैठकमा परराष्ट्रमन्त्री खनालले राईको शव नेपाल ल्याउने प्रक्रियाबारे जवाफ दिएपछि तामाङले थप प्रश्न राख्न खोजेकी थिइन्। तर सभामुख डोलप्रसाद अर्यालले नियमावलीअनुसार मन्त्रीको जवाफपछि पुनः प्रश्न गर्ने व्यवस्था नरहेको भन्दै उनलाई आसन ग्रहण गर्न आग्रह गरे।
सभामुखले भने, ‘मैले बोल्न समय दिएको छैन, बस्नुस् ।’
तर उनले आफूले बोल्न पाउनुपर्ने अडान राखिन् । त्यति गर्दा पनि नरोकिएपछि सभामुखले सांसद तामाङलाई सभाको मर्यादामा रहन निर्देशन दिए । सभामुखको निर्देशनपछि उनी झोला टिपेर झोंकिँदै बैठक छाडेर हिँडिन् ।
तामाङले सन्तोष राईको मृत्यु भएको ३७ दिन बितिसक्दा पनि शव नेपाल ल्याउन सरकारले गम्भीरता नदेखाएको आरोप लगाउँदै आएकी छन्। अर्थ मन्त्रालयले बजेट छुट्याए पनि परराष्ट्र मन्त्रालयले आवश्यक कार्यविधि नबनाउँदा शव ल्याउने प्रक्रिया रोकिएको उनको दाबी छ।
यसअघि उनले सोमबारको प्रतिनिधिसभा बैठकमा उभिएरै सरकारसँग जवाफ मागेकी थिइन्। त्यसपछि सभामुख अर्यालले परराष्ट्र मन्त्रालयलाई तीन दिनभित्र जवाफ दिन रुलिङ गरेका थिए।
मंगलबार मन्त्री खनालले सोही रुलिङअनुसार जवाफ दिए पनि तामाङले त्यसमा थप स्पष्टता आवश्यक रहेको भन्दै प्रश्न गर्न खोजेकी थिइन्। सभामुखले समय नदिएपछि उनले बैठक बहिस्कार गरेकी हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।