काठमाडौं– सुनसरीको देवानगञ्ज र सिरहाको गोलबजारमा उत्पन्न हिंसात्मक घटनाहरूको छानबिन गर्न गठित विशेष समितिहरूले आफ्नो प्रतिवेदन गृहमन्त्री सुधन गुरुङसमक्ष पेस गरेका छन् ।
गत साउन १० गते सुनसरीको कप्तानगञ्जमा हिन्दु र मुस्लिम समुदायबीच भएको झडपका क्रममा गोली लागेर ३० वर्षीय ओमप्रकाश मेहता, २० वर्षीय जयप्रकाश मेहता र २२ वर्षीय रवीन्द्र मेहताको मृत्यु भएको थियो जसको असर मधेस प्रदेशभर फैलिएको थियो ।
त्यसैगरी, साउन १४ गते सिरहाको गोलबजारमा प्रहरीसँग भएको झडप तथा प्रदर्शनका दौरान १८ वर्षीय गणेश यादवको निधन भएको थियो । यी दुवै गम्भीर घटनाहरूको निष्पक्ष छानबिन गर्न सरकारले छुट्टाछुट्टै समिति गठन गरी स्थलगत अध्ययन गराएको थियो ।
गृह मन्त्रालयका प्रवक्ता एवं सहसचिव आनन्द काफ्लेले दिएको जानकारीअनुसार दुवै समितिले मंगलबार गृहमन्त्रीलाई प्रतिवेदन बुझाएका छन् र हाल त्यसमा उल्लेखित निष्कर्ष तथा सिफारिसहरूको अध्ययन भइरहेको छ ।
कप्तानगञ्जको घटनाको छानबिन गर्न गृह मन्त्रालयका सहसचिव भूपेन्द्र थापाको नेतृत्वमा समिति गठन गरिएको थियो भने सिरहाको गोलबजार घटनाको अध्ययन गर्न अर्का सहसचिव पुष्पराज शाहीको संयोजकत्वमा छुट्टै छानबिन समिति बनाइएको थियो ।
दुवै समितिका पदाधिकारीहरूले स्थलगत अवलोकन, पीडित पक्ष तथा प्रत्यक्षदर्शीहरूसँगको संवादका आधारमा तयार पारिएको सिफारिससहितको प्रतिवेदन बुझाएका हुन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।