ललितपुर – पत्रकार किशोर श्रेष्ठविरुद्ध उपसभामुख रुबीकुमारी ठाकुरले दिएको जाहेरीमाथि ललितपुर प्रहरीले अनुसन्धान अघि बढाउने तयारी गरेको छ। प्रहरीका अनुसार जाहेरीको प्रारम्भिक अध्ययन भइरहेको छ।
ललितपुर प्रहरी परिसरका प्रवक्ता एसपी गौतम मिश्रले जाहेरीको अध्ययनपछि आवश्यक प्रक्रिया अघि बढाइने जानकारी दिएका छन्। उनका अनुसार अनुसन्धानका क्रममा श्रेष्ठलाई पक्राउ गर्नुपर्ने देखिए जिल्ला अदालतबाट अनुमति लिइनेछ।
यता श्रेष्ठले भने आफूलाई पक्राउ नगर्न माग गर्दै उच्च अदालत पाटनमा अन्तरिम आदेशका लागि निवेदन दिएका छन्। अदालतमा निवेदन दिएपछि उनी आफैँ प्रहरी कार्यालयमा उपस्थित हुने तयारीमा रहेको बताइएको छ।
यसअघि वैयक्तिक गोपनीयता उल्लंघनसम्बन्धी मुद्दामा पक्राउ परेका श्रेष्ठलाई सर्वोच्च अदालतले थुनामुक्त गर्न आदेश दिएको थियो। सर्वोच्चले समाचार प्रकाशनकै आधारमा पत्रकारलाई थुनामा राख्न नमिल्ने ठहर गर्दै उनलाई रिहा गर्न आदेश दिएको थियो।
श्रेष्ठलाई साउन २७ गते ललितपुरको बागडोलस्थित घरअगाडिबाट पक्राउ गरिएको थियो। रास्वपा सांसद अमरकान्त चौधरीसँग सम्बन्धित तस्बिर प्रकाशित गरेको विषयमा दिपिका सिंहले दिएको जाहेरीका आधारमा उनलाई पक्राउ गरिएको थियो। उक्त तस्बिर सिंहले आफैँ सामाजिक सञ्जालमा सार्वजनिक गरेको बताइएको छ।
श्रेष्ठकी पत्नी सरस्वती श्रेष्ठले उनको रिहाइको माग गर्दै सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन्। सोही रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चले श्रेष्ठलाई रिहा गर्न परमादेश जारी गरेको थियो।
श्रेष्ठ रिहा हुनुअघि नै उपसभामुख ठाकुरले जनआस्था साप्ताहिकमा आफ्नोबारे गलत समाचार प्रकाशित भएको भन्दै प्रहरीमा जाहेरी दिएकी थिइन्। जाहेरीमा उनले प्रकाशित सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष्ठासँगै प्रतिनिधिसभाको गरिमा र मुलुकको प्रतिष्ठामा समेत असर पारेको दाबी गरेकी छन्।
अब प्रहरीको जाहेरी अध्ययन, अदालतबाट पक्राउ अनुमति माग्ने प्रक्रिया तथा उच्च अदालत पाटनमा श्रेष्ठले दिएको अन्तरिम आदेशसम्बन्धी निवेदनले घटनाको आगामी कानुनी प्रक्रिया निर्धारण गर्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।