काठमाडौं– नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत विभिन्न जिल्लामा निर्वाचन सम्पन्न गर्न तोकिएका निर्वाचन अधिकृतहरूको प्रशिक्षण कार्यक्रम भदौ २ गते हुने भएको छ ।
नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले सोमबार जारी गरेको सूचनाअनुसार प्रशिक्षण कार्यक्रम भदौ २ गते मंगलबार दिउँसो २ बजे नेपाली कांग्रेस केन्द्रीय कार्यालय, बीपी स्मृति भवन, बीपी नगर, ललितपुरमा आयोजना हुनेछ ।
नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको निर्णयअनुसार आगामी असोज १६ देखि १९ गतेसम्म १५औँ केन्द्रीय महाधिवेशन हुँदैछ । सोही महाधिवेशनअन्तर्गत विभिन्न जिल्लामा निर्वाचन सम्पन्न गर्न तोकिएका निर्वाचन अधिकृतहरूलाई प्रशिक्षण दिन कार्यक्रम आयोजना गरिएको समितिले जनाएको छ ।
प्रशिक्षण कार्यक्रममा नेपाली कांग्रेसका सभापति गगनकुमार थापाको समुपस्थिति रहनेछ । केन्द्रीय निर्वाचन समिति संयोजक प्रेमबहादुर खड्काले सम्बन्धित सबैलाई कार्यक्रममा उपस्थित हुन अनुरोध गरेका छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।