काठमाडौं– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पूर्वसभापति शेरबहादुर देउवालाई पार्टीको आगामी १५औँ महाधिवेशनमा सम्मानपूर्वक अतिथिका रूपमा सहभागी गराएर उनका कुरा सुन्न आफूहरू इच्छुक रहेको बताएका छन् ।
कांग्रेस केन्द्रीय कार्यसमिति बैठकको समापनमा बोल्दै थापाले देउवाप्रति आफ्नो उच्च सम्मान रहेको उल्लेख गर्दै विगतमा पार्टीभित्र भएका घटनाक्रमबारे आफूहरूबीच असहमति भए पनि त्यसले देउवाको राजनीतिक योगदानलाई कम नगर्ने बताए ।
विद्रोही कांग्रेसको भेलामा देउवालाई ‘सभापति’ लेखिएको नेमप्लेट राखिएको विषयतर्फ संकेत गर्दै थापाले देउवालाई गलत ढंगले प्रयोग गर्न खोजिएको दाबी गरे । उनले देउवालाई वरिपरिका केही व्यक्तिले पटक–पटक भ्रममा पारेको बताए ।
उनले भने, ‘मेरो आदरणीय नेता, पूर्व सभापति, निवर्तमान सभापति शेरबहादुर देउवालाई भन्नुपर्ने केही कुराहरू छन् । दाइ, तपाईँलाई अस्ति लगेर साथीहरुले नेमप्लेट राखेर सभापति भनेर राख्दिएछन् । मलाई अलिकति नरमाइलो लाग्यो । त्यो बेलामा जसले ‘यसो नगर्नु दाइ’ भनेर भन्यो, ती सबै तपाईँलाई पराई लागे । जसले वरिपरि बसेर धुप बाले, ती आफ्ना लागे । आफ्नाले डुबाए दाइ, फेरि डुबाउँछन् ।’
थापाले भदौ २२, २३, २४ र २५ गते आफू र महामन्त्री विश्वप्रकाश शर्मासहितका नेताहरूले देउवासँग निरन्तर संवाद गरेको स्मरण गरे । असोज २८ गते पनि देउवालाई सम्मानपूर्वक पार्टीबाट बिदा गरिएको भन्दै पछि पुनः उनलाई नेपाल फर्काउन र राजनीतिक प्रक्रियामा सहभागी गराउन केही नेताहरूले दबाब दिएको उनको भनाइ थियो ।
‘तपाईंलाई सभापति नभइकन, नमानीकन हुँदैन भनेर आएछन्, फेरि ढाँटे दाइ,’ थापाले भने । उनले देउवालाई पार्टीको निवर्तमान सभापति र श्रद्धेय पूर्वसभापतिका रूपमा सम्मान गर्दै आगामी असोज १६ गते हुने १५औँ महाधिवेशनमा अतिथिका रूपमा बोलाउने, उनका कुरा सुन्ने, शुभेच्छा र मार्गदर्शन लिने बताए ।
थापाले देउवाको घरमा भएको घटनालाई गलत भन्दै भदौ २३ र २४ का घटनाको न्यायिक छानबिन हुनुपर्ने धारणा पनि दोहोर्याए । तर युवाहरूको आक्रोश र नागरिकको असन्तुष्टिलाई बेवास्ता गर्दै त्यसलाई केवल प्रायोजित आन्दोलनका रूपमा चित्रण गर्न नहुने उनको भनाइ थियो ।
उनले कांग्रेस अब आन्तरिक झगडामा मात्रै अल्झिन नहुने भन्दै पार्टीलाई नयाँ ढंगले अघि बढाउन देउवाको सहयोग आवश्यक रहेको बताए । साथै, विगतका कमजोरी ढाकछोप गर्न देउवालाई ‘ढाल’ बनाउने प्रयासमा सहभागी नहुन समेत आग्रह गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।