काठमाडौं– सर्वोच्च अदालतको परमादेशपछि रिहा भएका पत्रकार किशोर श्रेष्ठले आफू सत्ताविरुद्ध लेखेकै कारण पक्राउ र हिरासतको अवस्था भोग्नुपरेको बताएका छन् । रिहा भएपछि सञ्चारकर्मीसँग कुरा गर्दै श्रेष्ठले आफू नहारेको र जीवन रहेसम्म आफूले देखेका विषय लेख्न नछाड्ने बताए ।
श्रेष्ठले आफूले कक्षा ९ मा पढ्दादेखि नै पत्रकारिता सुरु गरेको उल्लेख गर्दै भने, ‘म हारेको छैन । म हार्दिनँ । म नमरेसम्म मैले देखेको कुरा लेख्न छाड्दिनँ । लेखिरहन्छु ।’
उनले आफू यसअघि पनि पटक–पटक जेल बसेको उल्लेख गर्दै पछिल्लो घटनामा पनि सत्ताविरुद्ध लेखेकै कारण सजाय भोग्नुपरेको दाबी गरे । गौरीबहादुर कार्की नेतृत्वको प्रतिवेदन दबाइएको अवस्थामा आफूले सार्वजनिक गरेको र त्यसप्रति केही व्यक्तिहरू असन्तुष्ट रहेको उनको भनाइ थियो ।
श्रेष्ठले आफूलाई पक्राउ गरेर अनुसन्धान गर्नुको साटो मानसिक दबाब दिने काम भएको आरोप लगाए । ‘सोधपुछ नै भएन । लगेर थुन्ने र अरू मुद्दाहरू लगाउने उद्देश्य थियो,’ उनले भने ।
उनले आफ्नो कार्यालय र घरबाट कम्प्युटर तथा बालबच्चाको ल्यापटपसमेत लैजानुपर्ने कारणबारे प्रश्न उठाए । आफूले कुनै व्यक्तिको फोटो नभई समाचार प्रकाशित गरेको उनको स्पष्टोक्ति थियो ।
सम्बन्धित व्यक्तिले बुधबार नै खण्डन पठाइसकेको उल्लेख गर्दै श्रेष्ठले खण्डनलाई समाचारमा उचित स्थान दिने बताए । ‘उहाँका लागि छुट्टै पत्रिका छाप्ने कुरा भएन । इमेलमा आएको छ । उहाँको भनाइलाई हामी ठाउँ दिन्छौं,’ उनले भने ।
श्रेष्ठले आफूलाई व्यक्तिगत रूपमा कसैप्रति गुनासो नरहेको बताउँदै नयाँपन देखाउने भनेर आएकाहरुले त्यसलाई व्यवहारमा उतार्न आग्रहसमेत गरे ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।