काठमाडौँ- शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलसँग नेपालका लागि युरोपेली सङ्घ (इयू) का राजदूत भेरोनिक लोरेन्जोले शिष्टाचार भेटवार्ता गरेका छन ।
सिंहदरबारस्थित शिक्षा मन्त्रालयमा सोमबार भएको भेटमा नेपाल र इयूबीचको लामो समयदेखिको मैत्रीपूर्ण सम्बन्ध, शिक्षा क्षेत्रमा भइरहेको सहकार्य तथा आगामी दिनमा सहकार्य विस्तार गर्न सकिने क्षेत्रका विषयमा छलफल भएको थियो ।
भेटमा मन्त्री पोखरेलले विद्यालय शिक्षाको सुधारका लागि मन्त्रालयले विभिन्न नीतिगत तथा संरचनागत सुधारको काम अघि बढाइरहेको जानकारी दिए । उनले विद्यालय शिक्षासम्बन्धी महत्वपूर्ण नीतिगत दस्तावेजका रूपमा शिक्षा ऐन तथा प्राविधिक तथा व्यावसायिक शिक्षा ऐन अघि बढाइएको र सुधार गर्नुपर्ने विषयलाई पनि समेटिने बताए ।
मन्त्री पोखरेलका अनुसार राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जनको कामसमेत अघि बढिरहेको छ । प्राविधिक तथा व्यावसायिक शिक्षामा सुशासन सुधार, कार्यकारी भूमिकासम्बन्धी विद्यमान द्विविधा अन्त्य, शिक्षकको पेसागत विकास तथा डिजिटल शिक्षाका क्षेत्रमा पनि मन्त्रालयले काम गरिरहेको उनले बताए ।
मन्त्रालयले अघि सारेका शिक्षा क्षेत्रका सुधारका विषयमा उपयुक्त सन्दर्भमा इयूसँग सहकार्य गर्न तयार रहेको मन्त्री पोखरेलले उल्लेख गरे ।
उनले प्रारम्भिक बाल विकास (इसिडी) का शिक्षकलाई प्रारम्भिक अटिजम पहिचान तथा स्क्रिनिङसम्बन्धी तालिम दिने कार्यलाई पनि मन्त्रालयले प्राथमिकतामा राखेको जानकारी दिए । यस क्षेत्रमा इयूसँगको सहकार्यलाई आगामी दिनमा निरन्तरता दिने विश्वाससमेत उनले व्यक्त गरे।
भेटका क्रममा इयूका राजदूत लोरेन्जोले नेपालको शिक्षा क्षेत्रसँगको सहकार्य इयूका लागि महत्वपूर्ण प्राथमिकतामध्ये एक रहेको बताइन । उनले शिक्षा क्षेत्रमा हुँदै आएको सहयोगलाई आगामी दिनमा पनि निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरिन ।
राजदूत लोरेन्जोले इयूले नेपालको शिक्षा क्षेत्रको सन् २०२८ देखि २०३४ सम्मको सुधारका लागि आवश्यक फ्रेमवर्कमा काम गरिरहेको जानकारी दिइन । विद्यालय शिक्षा, प्राविधिक तथा व्यावसायिक शिक्षा, डिजिटल शिक्षा र शिक्षकको पेसागत विकासका क्षेत्रमा आगामी दिनमा सहकार्य गर्न इयू तयार रहेको उनले बताइन ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।