काठमाडौं– प्रतिनिधि सभाका सभामुख डोल प्रसाद अर्यालले सांसदहरूले लामो समयदेखि उठाउँदै आएको प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम सञ्चालन गर्न प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई संसदमा उपस्थित भएर सांसदका प्रश्नको जवाफ दिन रुलिङ गरेका छन् ।
सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा सभामुख अर्यालले प्रधानमन्त्री वा प्रधानमन्त्रीको कार्यक्षेत्रसँग सम्बन्धित महत्वपूर्ण विषयमा सांसदहरूले प्रश्नोत्तरको माग गर्दै गरेको विरोधप्रति आफ्नो ध्यानाकर्षण भएको भन्दै प्रधानमन्त्रीलाई संसदमा उपस्थित हुन निर्देशन दिएका हुन् ।
सभामुख अर्यालले भने, ‘प्रतिनिधिसभाको बैठकमा उपस्थित भई नियमावलीको नियम ५६, ५७, ५८, ५९ र ६० बमोजिम माननीय सदस्यहरूको प्रश्नको जवाफ दिन म सम्माननीय प्रधानमन्त्रीलाई निर्देश गर्दछु ।’
रुलिङपछि पनि विपक्षी दलका सांसदहरू बैठकमा नबसेपछि सभामुखले सरकार र प्रधानमन्त्रीको नाममा रुलिङ गरिसकेको भन्दै सदन सञ्चालनमा सहयोग गर्न आग्रह गरेका थिए ।
प्रतिनिधिसभा नियमावली, २०८३ को नियम ५६ मा प्रधानमन्त्री वा प्रधानमन्त्रीको कार्यक्षेत्रसँग प्रत्यक्ष सम्बन्धित महत्त्वपूर्ण विषयमा प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम सञ्चालन गर्ने व्यवस्था छ । नियमअनुसार प्रत्येक महिनाको पहिलो हप्ताको कुनै एक दिन बैठकको पहिलो एक घण्टा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तरका लागि निर्धारण गर्नुपर्ने व्यवस्था छ ।
तर, उक्त व्यवस्था भए पनि हालसम्म यसको प्रभावकारी कार्यान्वयन हुन सकेको छैन । नियम ५८ अनुसार प्रधानमन्त्रीलाई प्रश्न गर्न इच्छुक सांसदले बैठक सुरु हुनुभन्दा तीन दिनअघि सभामुखलाई प्रश्नको लिखित जानकारी गराउनुपर्ने व्यवस्था छ ।
त्यस्तै, नियम ५९ मा प्राप्त प्रश्न स्वीकारयोग्य भए–नभएको निर्णय सभामुखले गर्ने र प्रत्यक्ष प्रश्नोत्तरसम्बन्धी अन्य कार्यविधि सभामुखले निर्धारण गर्ने उल्लेख छ । नियम ६० अनुसार प्रधानमन्त्रीले दिएको जवाफमाथि सदनमा थप छलफल भने गर्न पाइँदैन ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।