काठमाडौँ– नेपाली काँग्रेसका नेता रमेश लेखकले पार्टीभित्रको वर्तमान दूरी अन्त्य गरी संगठनलाई एकताबद्ध बनाउने प्रमुख दायित्व सभापति गगनकुमार थापामाथि रहेको बताएका छन्।
उनले नेतृत्वले आवश्यक पहल नगरे पार्टीभित्रको अवस्था थप जटिल बन्न सक्ने संकेत गरेका छन्।
काठमाडौँमा सोमबार कञ्चनपुरबाट आएका नेता तथा कार्यकर्तासँगको छलफलमा लेखकले पार्टी एकताका लागि आफ्नो पक्षबाट पर्याप्त प्रयास भएको दाबी गरे। नयाँ बानेश्वरस्थित आनन्द भूमि इभेन्टमा आयोजित कार्यक्रममा उनले अब पार्टीलाई मिलाउने जिम्मेवारी सभापति थापाको भएको धारणा राखेका हुन्।
लेखकले पूर्वसभापति शेरबहादुर देउवा नेतृत्वको पक्षबाट पार्टीलाई एकीकृत राख्न निरन्तर प्रयास गरिएको बताए। उनका अनुसार पार्टीभित्र सहमतिको वातावरण निर्माण गर्न देउवाले समेत विभिन्न जिम्मेवारी हस्तान्तरण गरेका थिए।
पार्टीलाई एक ढिक्का बनाउने प्रयास स्वरूप देउवाले पूर्वउपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहकको जिम्मेवारी दिएको र निर्वाचन प्रयोजनका लागि आवश्यक हस्ताक्षर गर्ने अधिकारसमेत खड्कालाई प्रदान गरेको लेखकले उल्लेख गरे।
निर्वाचनमा उम्मेदवारीका लागि आवश्यक हस्ताक्षर देउवाले नै गर्नुपर्ने विषयमा प्रश्न उठेपछि पार्टी एकताको उद्देश्यले उक्त अधिकार हस्तान्तरण गरिएको उनको भनाइ थियो। पार्टी सभापतिका रूपमा ठूलो जनमतसहित निर्वाचित व्यक्तिलाई उम्मेदवारको टिकटमा हस्ताक्षर नगर्न आग्रह गर्नु सहज विषय नभए पनि संगठन जोगाउने उद्देश्यले त्यसो गरिएको उनले बताए।
लेखकले कञ्चनपुरका नेता-कार्यकर्तालाई पार्टीको सदस्यता अद्यावधिक गरेका व्यक्तिसँग निरन्तर सम्पर्कमा रहन र उनीहरूलाई आफ्नो राजनीतिक अभियानमा जोड्न आग्रह गरे। सदस्यता अद्यावधिक गरेका र नगरेका आधारमा पार्टीभित्र विभाजनको अवस्था सिर्जना गर्न नहुने उनको भनाइ थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।