काठमाडौं –नेपाली कम्युनिस्ट पार्टी (नेकपा) आज कोशी प्रदेश सरकारमा सहभागी हुने भएको छ ।
नेकपा एमाले र नेकपाबीच साउन पहिलो साता भएको तीनबुँदे सहमतिअनुसार आज मन्त्रिपरिषद् विस्तार हुन लागेको हो ।
नवनियुक्त मन्त्रीहरूको शपथ ग्रहणका लागि प्रदेश प्रमुख परशुराम खापुङसँग दिउँसो ३ बजेका लागि समय माग गरिएको छ ।नेकपाले भने शपथको समय तय भइसक्दा पनि मन्त्रीहरूको नाम टुंगो लगाउन सकेको छैन । मन्त्रीहरूको नाम तय गर्न नेकपा प्रदेश कमिटी सचिवालयको बैठक जारी छ ।
दुई दिनअघि बसेको संसदीय दलको बैठकमा प्रदेश सभाका १७ सांसदमध्ये १५ जनाले मन्त्री बन्न दाबी गरेका थिए । दाबेदार धेरै भएपछि अन्तिम नाम सिफारिस गर्ने जिम्मेवारी प्रदेश कमिटी सचिवालयलाई दिइएको छ ।
नेकपा स्रोतका अनुसार अधिकांश मन्त्रीको नाम टुंगो लागिसकेको भए पनि सरकारमा पार्टीको नेतृत्व गर्दै कसलाई पठाउने भन्ने विषयमा सहमति जुट्न सकेको छैन । पार्टीको नेतृत्व गर्दै सरकारमा जान जीवन आचार्य, बाबुराम गौतम र दुर्गा चापागाईंले दाबी गरेका छन् ।
यसैगरी गोम्बु शेर्पा, खिनु लङ्वा, गीता तिमल्सिना, राजन किराँती र सपना परियार पनि मन्त्री बन्ने दौडमा रहेको बताइएको छ ।
एमालेबाट हाल सरकारमा रहेका मन्त्रीहरूले नै निरन्तरता पाउने भए पनि उनीहरूको मन्त्रालय भने हेरफेर हुने भएको छ ।कुल ९ वटा मन्त्रालय रहेको कोशी प्रदेशमा नेकपाले ४ वटा मन्त्रालय पाउने सहमति भएको छ भने मुख्यमन्त्रीसहित बाँकी ५ वटा मन्त्रालयको नेतृत्व नेकपा एमालेले गर्नेछ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।