काठमाडौं– देशभर एलपी ग्यासको अभाव चर्किएपछि सभामुख डोलप्रसाद अर्यालले समस्या समाधानका लागि चासो देखाएका छन्।
सभामुख अर्यालले उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवसँग ग्यास अभावको कारण र उपभोक्ताले वर्षातमा समेत घण्टौँ लाइन बस्नुपर्ने अवस्थाबारे जानकारी लिएका हुन्।
‘सभामुखज्यूले ग्यास अभावबारे चासो राख्नुभएको छ । उपभोक्ता वर्षातमा भिज्दै लाइन लाग्नुको कारण के हो ? यो समस्याको अन्त्य कसरी गर्ने, समस्याको कारण के हो ? जानकारी लिनुभएको छ,’ सभामुखको सचिवालयले भन्यो ।
उनले माग र आपूर्तिबीच सन्तुलन मिलाउँदै तत्काल वितरण सहज बनाउन आवश्यक पहल गर्न पार्टी सभापति रवि लामिछानेको समेत ध्यानाकर्षण गराएका छन्।
मन्त्रालयका अनुसार पछिल्ला महिनामा ग्यास आयात बढे पनि बजारमा अभाव र हाहाकार कायमै छ।
जेठमा ३२ हजार ८४२.२९ मेट्रिक टन आयात भएर २ लाख ३१ हजार २८२ वटा सिलिण्डर भरिने मन्त्रालयले बताएको छ ।
असारमा ४४ हजार ५४४.५० मेट्रिक टन आयात भइ ३ लाख १३ हजार ६९३ वटा सिलिण्डर भरिएकामा साउन ३० सम्म ५४ हजार ५०५ मेट्रिक टन आयात भइसकेको छ । साउन ३० गतेसम्म ५४ हजार ५०५ मेट्रिक टन ग्यास आयात भइसकेको छ, जसबाट करिब ३ लाख ८३ हजार ८४१ सिलिन्डर भरिने मन्त्रालयको तथ्यांक छ।
आयात बढ्दा पनि उपभोक्ताले ग्यासका लागि लामो लाइन बस्नुपर्ने अवस्था किन आयो भन्ने विषयमा मन्त्रालयले कारण खोजिरहेको जनाएको छ। मन्त्रालयले वितरण प्रणाली सहज बनाउन आफैं अग्रसर भएर काम गरिरहेको बताएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।