काठमाडौं– जनता समाजवादी पार्टी (जसपा) नेपालले जनता समाजवादी पार्टी नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी नेपालबीचको एकीकरणपछि नयाँ सांगठनिक संरचना घोषणा गरेको छ।
अध्यक्ष उपेन्द्र यादव नेतृत्वको २७९ सदस्यीय केन्द्रीय समितिमा शरतसिंह भण्डारीलाई सहअध्यक्ष तथा डा. सुरेन्द्रकुमार झा, लालबाबु राउत र प्रकाश अधिकारीलाई महासचिवको जिम्मेवारी दिइएको छ।
पार्टीले सार्वजनिक गरेको विवरणअनुसार महन्थ ठाकुरलाई एकीकृत पार्टीको संरक्षक तथा रकम चेम्जोङलाई वरिष्ठ नेताको जिम्मेवारी दिइएको छ।
पार्टी विधानको धारा ८७ को उपधारा २ अनुसार दुवै दलका केन्द्रीय समितिलाई समायोजन गरी नयाँ समिति गठन गरिएको जसपा नेपालले जनाएको छ। नयाँ संरचनामा महिलाको प्रतिनिधित्व ३३ प्रतिशत र युवाको प्रतिनिधित्व ४० प्रतिशत कायम गरिएको पार्टीको दाबी छ।
नीति निर्माण तथा पार्टी सञ्चालनमा सहयोग पुर्याउन सात जनालाई उपाध्यक्षको जिम्मेवारी दिइएको छ। उपाध्यक्षमा उमाकान्त झा, गोविन्द चौधरी, जीतेन्द्रप्रसाद सोनार, निलम वर्मा, परमेश्वर साह, राजकिशोर यादव र रेणु कुमारी यादव रहेका छन्।
त्यस्तै, सात जनालाई उपमहासचिव बनाइएको छ। उपमहासचिवमा जैनुल राइन, दीपक कार्की, रामप्रकाश चौधरी, रानी कुमारी तिवारी, राजकुमार राई, रेखा यादव र लिला देवी सिटौला रहेका छन्। पार्टीको सचिवमा अर्जुन थापा, उमेश यादव, अनिलकुमार सिंह, उपेन्द्र महतो, कमरुद्दीन राई, मिना चौधरी, रामप्रवेश बैठा, लाक्पा शेर्पा, शैलेन्द्रप्रसाद साह, सुनी लामा र सुरेश मण्डललाई जिम्मेवारी दिइएको छ।
सुरिताकुमारी साहलाई कोषाध्यक्षको जिम्मेवारी दिइएको छ।
पार्टीले कार्यकारिणी समितिमा २९ जना र केन्द्रीय समितिमा २१७ जना सदस्य चयन गरेको जनाएको छ। कार्यकारिणी समितिमा अशेश्वर यादव, अम्बिका काफ्ले, अनिरुद्वप्रसाद सिंह यादव र अमरकान्त झासहितका नेताहरू छन्।
त्यस्तै, केन्द्रीय समितिमा अञ्जना शेर्पा, अरविन्द दास, अरुण सिंह मण्डल धानुकलगायत २१७ जना सदस्य रहेका छन्।
जसपा नेपालले नयाँ केन्द्रीय संरचनामा देशभरका विभिन्न क्षेत्र तथा समुदायको प्रतिनिधित्व सुनिश्चित गर्ने प्रयास गरिएको जनाएको छ। पार्टीका मुख्य पदाधिकारीहरूको वरियताक्रम विधानअनुसार निर्धारण गरिएको र अन्य सदस्यको नाम वर्णानुक्रमका आधारमा राखिएको पार्टीको विज्ञप्तिमा उल्लेख छ।
नामावली :
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।