काठमाडौं– नेपाली कांग्रेसको पूर्व सभापति शेरबहादुर देउवा पक्षको विद्रोही कांग्रेसले शुक्रबारदेखि सुरु गरेको राष्ट्रिय भेलाको ब्यानर नै परिवर्तन गरेको छ ।
शुक्रबार उद्घाटन भएर शनिबार बिहानैदेखि बन्दसत्र चलिरहेको थियो । विभिन्न समितिका प्रतिवेदनहरु पेस भइरहेका बेला आयोजकले राष्ट्रिय भेलाको ब्यानर नै परिवर्तन गरी राष्ट्रिय सम्मेलनमा परिणत गरेको छ ।
सुकेधाराको मिराकल पार्टी भेन्यूमा भइरहेको भेलाको ब्यानर परिवर्तन गरी अहिले राष्ट्रिय सम्मेलन लेखेको छ । यस विषयमा कांग्रेस नेता तथा विद्रोही समूह देउवा पक्षका प्रचार–प्रसार समिति संयोजक मीन विश्वकर्माले पार्टीको विधानअनुसार ब्यानर परिवर्तन गरिएको जानकारी दिए ।
उनले भने, ‘विधानले भेलालाई चिन्दैन । त्यसैले राष्ट्रिय सम्मेलनमा परिणत भएको हो । विधानले अधिवेशन, महाधिवेशन र सम्मेलन मात्रै चिन्छ ।’
उनका अनुसार हाल अदालतबाट पुनरावलोकनको निस्सा प्राप्त नगरेकाले राष्ट्रिय भेला भनेर बोलाएको विषय विधानभन्दा बाहिरको रहेको थियो । अदालतबाट निस्सा प्राप्त भइसकेकाले अब विधानअनुसार नै छलफल गर्नका लागि भेलालाई सम्मेलनमा परिणत गरिएको उनको भनाइ छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।