काठमाडौं– अपहरण गरी बन्धक बनाइएका एक युवकलाई प्रहरीले सकुशल उद्धार गरेको छ। घटनामा संलग्न रहेको आरोपमा प्रहरीले सात जनालाई पक्राउ गरी अनुसन्धान अघि बढाएको छ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुका अनुसार गत बिहीबार झापा शिवसताक्षी नगरपालिका–१० माइधार घर भई हाल काठमाडौं महानगरपालिका–२६ मित्रनगर बस्ने नवीन रायलाई अपरिचित ५/६ जनाको समूहले अपहरण गरी बन्धक बनाएको थियो। अपहरणकारीले पीडितको परिवारसँग १८ लाख रुपैयाँ फिरौती मागेको गोप्य सूचना प्रहरीलाई प्राप्त भएको थियो।
सूचना पाएपछि प्रहरीले विशेष टोली परिचालन गरी पीडितको उद्धार तथा घटनामा संलग्न व्यक्तिहरूको खोजी थालेको थियो। सोही क्रममा प्रहरी टोलीले काठमाडौंको नागार्जुन नगरपालिका–५ छहरेडाँडाबाट अपहरणमा परेका रायलाई सकुशल उद्धार गरेको जनाएको छ।
प्रहरीले घटनामा संलग्न रहेको आरोपमा ३२ वर्षीय मनोज बुढाथोकी, ३० वर्षीय निशान रुम्बा तामाङ, २२ वर्षीय जेनिश चौधरी, २४ वर्षीय निमेष कार्की, २४ वर्षीय प्रदीप चौलागाईं, २४ वर्षीय अमित ओली र २३ वर्षीय देवकुमार श्रेष्ठलाई पक्राउ गरेको हो।
पक्राउ परेकाहरूलाई थप अनुसन्धान तथा कारबाहीका लागि काठमाडौं जिल्ला अदालतबाट ६ दिनको म्याद लिएर अनुसन्धान भइरहेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।