काठमाडौं– प्रहरी र सशस्त्र प्रहरीविरुद्ध संसदीय समितिमा परेको उजुरीलाई लिएर सांसद खगेन्द्र सुनारले गृहमन्त्री तथा सम्बन्धित पक्षप्रति कडा आपत्ति जनाएका छन्।
सुनारले अनियमितता र भ्रष्टाचारसम्बन्धी उजुरीमाथि आवश्यक छानबिन हुन बाँकी रहेको भन्दै अनुसन्धानको क्रममा रहेका व्यक्ति वा मुद्दाबारे कसैले पनि पूर्वाग्रही ढंगले निष्कर्ष सुनाउन नहुने बताएका छन्।
उनले भनेका छन्, `कोही कसैले पनि आरोपितलाई काखी च्यापेर, केही नभए जसरी अनुसन्धानको क्रममा रहेका व्यक्ति र मुद्दाबारे सिंहदरबारभित्र न्यायाधीश बनेर फैसला गर्दै हिँड्ने हैन।´
सुनारका अनुसार समितिमा बदमासी भएको दाबी गर्दै उजुरी परेपछि सांसदका रूपमा आवश्यक प्रश्न उठाउनु आफ्नो जिम्मेवारी हो। उनले समितिले सम्बन्धित निकायलाई १५ दिनभित्र आवश्यक कागजात पेश गर्न निर्देशन दिएको उल्लेख गर्दै छानबिनको प्रक्रिया अझै जारी रहेको बताएका छन्।
उनले भ्रष्टाचार वा अनियमितताको आरोप लागेका व्यक्तिहरूलाई बर्दीको आडमा समितिमा उपस्थित भएर प्रवचन दिने छुट नहुने भन्दै कडा टिप्पणी गरेका छन्। `भाषण नै गर्ने रहर भए बर्दी खोलेर चुनाव लड्न आउने,´ उनको भनाइ छ।
सुनारले तल्लो तहका प्रहरी कर्मचारीले न्यून सुविधा र कठिन परिस्थितिमा लामो समयसम्म ड्युटी गर्नुपरेको उल्लेख गर्दै उनीहरूका लागि विनियोजित बजेटमा अनियमितता भए त्यसको हिसाब खोजिने चेतावनी दिएका छन्।
उनले आफू स्वतन्त्र, निष्पक्ष र व्यावसायिक प्रहरी संगठनको पक्षमा रहेको स्पष्ट पार्दै नेपाल प्रहरीको गौरव र व्यावसायिकता कायम राख्नुपर्नेमा जोड दिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।