काठमाडौं – नेपाली कांग्रेस राष्ट्रिय भेला आयोजक समितिका संयोजक डा. शशांक कोइरालाले पार्टीका पूर्वसभापति शेरबहादुर देउवाको प्रशंसा गर्दै उनलाई पश्चिमको राजकुमार र सभापतिको रूपमा सम्बोधन गरेका छन्।
राष्ट्रिय भेलामा बोल्दै कोइरालाले कांग्रेसका संस्थापक नेता बीपी कोइरालाले देउवालाई ‘पश्चिमको राजकुमार’ भन्ने गरेको स्मरण गरेका हुन्।
उनले भने, ‘शेरबहादुरजीलाई बीपी कोइरालाले पश्चिमको राजकुमार भन्नुहुन्थ्यो।’
कोइरालाले देउवा पहिलोपटक बनारस आउँदा आफूले उनलाई घुमाएको स्मरणसमेत गरे। देउवाको भेलामा उपस्थितिले कार्यक्रम थप सफल भएको उनको दाबी थियो।
देउवाको स्वागतका क्रममा देखिएको उत्साहप्रति आफू अचम्मित भएको उल्लेख गर्दै कोइरालाले भने, ‘शेरबहादुरजी नै हाम्रो नेता हो। हाम्रो सभापति शेरबहादुरजी हो। उहाँको नेतृत्वमा नेपाली कांग्रेस हिँड्छ।’
उनले कांग्रेसभित्र एकता कायम गर्न र पार्टीलाई थप मजबुत बनाउन राष्ट्रिय भेला आयोजना गरिएको बताए। पार्टीका नेता तथा कार्यकर्ताबीचको एकता र सहकार्यलाई प्राथमिकता दिँदै कांग्रेसलाई एकजुट बनाएर अघि बढ्ने उद्देश्य रहेको उनको भनाइ थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।