काठमाडौं– सभामुख डिपी अर्यालले व्यावसायिक तथा पेसागत संस्थाभित्र राजनीतिक गतिविधि नगर्न सुझाव दिएका छन्।
नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा)को ५९औँ साधारणसभाको उद्घाटन समारोहलाई सम्बोधन गर्दै सभामुख अर्यालले नाट्टा व्यावसायिक संस्था भएकाले यसलाई राजनीतिक विवाद र स्वार्थबाट टाढा राख्नुपर्ने बताएका हुन्।
‘यो व्यावसायिक संस्था हो, यसमा राजनीति नगरौँ। पर्यटन क्षेत्रको विकास, व्यवसायको प्रवर्द्धन र व्यावसायिक हितका विषयमा केन्द्रित भएर अघि बढौँ,’ उनले भने।
सभामुख अर्यालले पर्यटकका लागि सबैभन्दा महत्त्वपूर्ण विषय सुरक्षा रहेको उल्लेख गर्दै हवाईजहाज, ट्याक्सी तथा होटेललगायत पर्यटन सेवाका हरेक क्षेत्रमा पर्यटकले सुरक्षित महसुस गर्ने वातावरण बनाउनुपर्ने बताए। त्यसपछि मानिसको व्यवहार, सेवा र सुविधाले पर्यटकलाई आकर्षित गर्ने उनको भनाइ थियो। उनले पर्यटन क्षेत्रमा आवश्यक सुधारका लागि व्यवसायी, सरकार र सम्बन्धित सबै पक्ष मिलेर काम गर्नुपर्नेमा जोड दिँदै आन्तरिक द्वन्द्व र व्यक्तिगत स्वार्थभन्दा माथि उठ्न आग्रह गरे।
सभामुख अर्यालले काठमाडौं उपत्यकामा व्यवस्थित पर्यटक बसपार्क निर्माण गर्नुपर्ने बताए। अहिले सञ्चालनमा रहेका बसपार्क तथा उपलब्ध संरचनालाई प्रभावकारी रूपमा प्रयोग गर्दै निश्चित क्षेत्रमा पर्यटक बसपार्कको व्यवस्था गर्नुपर्ने उनको सुझाव थियो।
पर्यटनसम्बन्धी प्रस्तावित विधेयकमा पर्याप्त बहस र छलफल आवश्यक रहेको उल्लेख गर्दै सभामुख अर्यालले आगामी ५० वर्षलाई दृष्टिगत गरी दीर्घकालीन सोचका साथ कानुन निर्माण गर्नुपर्ने बताए। पर्यटन व्यवसायमा दोस्रो पुस्तालाई समेत आकर्षित गर्ने र प्रवेश गर्ने वातावरण बनाउनुपर्ने उनको भनाइ थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।