काठमाडौं – कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा विभिन्न कारागार तथा हिरासतमा रहेका थुनुवा एवं कैदीबन्दीको मानव अधिकारको अवस्थासम्बन्धी निरीक्षण तथा अवलोकन उपसमितिको प्रतिवेदन, २०८३ माथि छलफल तथा सुझाव संकलन गरिएको छ।
बैठकमा बाल सुधार गृहमा रहेका बालबालिकाको मानव अधिकारको अवस्थासम्बन्धी निरीक्षण तथा अवलोकन उपसमितिले समितिमा पेस गरेको प्रतिवेदन, २०८३ पारित गर्ने विषयमा समेत छलफल भएको छ।
बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले कारागार व्यवस्थापनको समग्र सुधारका लागि विद्यमान कानुनमा आवश्यक संशोधन गर्नुपर्ने बताइन्।
उनले समितिमा उठेका प्रश्न, प्रतिवेदनमा समेटिएका सुझाव तथा कैदीबन्दीलाई उत्पादनमूलक कार्यमा लगाउने र कारागार व्यवस्थापन सुधारका लागि गठित अध्ययन समितिको प्रतिवेदनलाई समेत आधार बनाएर सरकारले आवश्यक काम अघि बढाउने बताइन्।
‘यो विषयवस्तुमा लामो समयदेखि छलफल गर्दै आइरहेका छौँ। आज समितिमा उठेका प्रश्न, समितिले अध्ययन गरेर प्रतिवेदनमा सुझाएका विषयवस्तु र कैदीबन्दीलाई उत्पादनमूलक कार्यमा लगाउने तथा कारागार व्यवस्थापनको समग्र सुधार गर्न गठित अध्ययन समितिको प्रतिवेदन पनि हामीसँग छ,’ मन्त्री गौतमले भनिन्।
उनका अनुसार कारागार व्यवस्थापन सुधारसम्बन्धी अध्ययन समितिको प्रतिवेदन आएको करिब डेढ महिना भएको छ। विगतमा प्राप्त सुझावहरूलाई कानुन संशोधन नगरी कार्यान्वयन गर्न कठिनाइ रहेकाले अबको बाटोबारे सरकारले अध्ययन गरिरहेको उनले बताइन्।
मन्त्री गौतमले कारागार ऐन, २०७९ जारी भए पनि त्यसले सबै विषयलाई समयसापेक्ष रूपमा समेट्न नसकेको बताइन्। ऐनमा अझै धेरै विषय छुटेकाले आवश्यकताअनुसार कानुन सुधार गर्नुपर्ने उनको भनाइ छ।
‘कारागार ऐन, २०७९ मा आएको छ। समयसापेक्ष बनाउनका लागि भनेर त्यो ऐन आयो तर अझै पनि समयसापेक्ष बनेन। अझै पनि धेरै विषयवस्तु बाहिर छुटेका छन्,’ उनले भनिन्।
उनले कारागार सुधारको विषय कुनै दलविशेषको नभई साझा विषय भएकाले सबै राजनीतिक दल मिलेर अघि बढ्नुपर्नेमा जोड दिइन्। समाजलाई सुरक्षित र शान्तिपूर्ण बनाउने जिम्मेवारी सबैको साझा भएको उनको भनाइ छ।
मन्त्री गौतमले समितिमा सांसदहरूले दलीय धारणाभन्दा माथि उठेर विज्ञ र समाजको आवाजका रूपमा कारागार व्यवस्थापन तथा कानुन सुधारबारे सुझाव दिएको बताइन्। ती सुझावका आधारमा राज्यले आवश्यक कानुनी तथा नीतिगत सुधार गर्न सक्नेमा आफू विश्वस्त रहेको उनले बताइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।