काठमाडौं– गृहमन्त्री सुदन गुरुङले सार्वजनिक लेखा समितिमा गृहसचिव राजकुमार श्रेष्ठ र नेपाल प्रहरीका आइजीपी दानबहादुर कार्कीमाथि हालै भएको घटनाप्रति आफ्नो ध्यानाकर्षण भएको बताएका छन्।
सार्वजनिक लेखा समितिको हालैको बैठकमा सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद खगेन्द्र सुनारले गृहसचिव र आइजीपीमाथि गरेको व्यवहारलाई लिएर आलोचना भइरहेका बेला गृहमन्त्री गुरुङले आफ्नो धारणा सार्वजनिक गरेका हुन्।
‘वी आर नट ह्याप्पी’ भन्दै प्रतिनिधिसभाको कानून, न्याय तथा मानव अधिकार समितिको शुक्रबारको बैठकमा बोल्दै गुरुङले गृहसचिव र आइजीपीमाथि गरिएको व्यवहारप्रति असन्तुष्टि जनाए।
‘‘मेरो अनुपस्थितिमा गृहसचिव र नेपाल प्रहरीका आइजीपीलाई सार्वजनिक लेखा समितिमा जुन व्यवहार गरियो, त्यसप्रति मेरो ध्यानाकर्षण भएको छ,’’ उनले भने, ‘‘यो राम्रो भएन। आरोप लगाउन पाइयो भन्दैमा कसैको चरित्र हत्या गर्न पाइँदैन। यस विषयमा गृह मन्त्रालयको ध्यानाकर्षण भएको छ। हामी खुसी छैनौँ।’’
उनले आइजीपीले गृह मन्त्रालयको निर्देशनअनुसार दिनरात काम गरिरहेको पनि बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।