काठमाडौं– नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले मुलुकको लोकतान्त्रिक प्रणालीलाई बलियो बनाउन र समुन्नतिको यात्रालाई गति दिन नेपाली कांग्रेस पार्टीभित्र सुदृढ एकता आवश्यक रहेको बताएका छन्।
शुक्रबार ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा बोल्दै उनले पार्टीको आन्तरिक सुदृढीकरण नै देशको आवश्यकता भएको उल्लेख गरेका हुन्।
उपसभापति शर्माले पार्टीभित्र देखिएका कतिपय प्रतिकूलता र भिन्न मतका बीच पनि पार्टीलाई एकताबद्ध बनाएर लैजानुपर्नेमा जोड दिए । उ
पार्टीका नेता–कार्यकर्ताहरूमा रहने व्यक्तिगत सम्बन्ध र निष्ठाको सम्मान गर्दै शर्माले व्यक्तिभन्दा संस्था र सिद्धान्तप्रतिको निष्ठा माथि हुने जिकिर गरे।
‘व्यक्ति र संस्थाप्रतिको निष्ठा मध्ये चयन गर्नुपर्दा हामीले पार्टी र देशलाई नै प्राथमिकता दिनुपर्छ। व्यक्तिगत सम्बन्धभन्दा माथि उठेर पार्टीको संस्थागत मर्यादा र सिद्धान्तलाई आत्मसात गर्न म सबै साथीहरूलाई आग्रह गर्दछु,’ शर्माले भने, ‘हामीले जेठ १६ गते नै सात बुँदे लिखित प्रस्ताव नेताहरू समक्ष पठाएका थियौं। पार्टीभित्रको आन्तरिक विषय भएकाले संयम र परिपक्वता देखाउन त्यसबेला यसलाई गोप्य राखिए पनि पछि जेठ ३१ गते सार्वजनिक गरिएको हो।’
गत वैशाख ४ गते सर्वोच्च अदालतको डिभिजन बेन्चले निर्वाचन आयोगको अद्यावधिकलाई सदर गर्दै रिट खारेज गरेपछिको परिस्थितिबारे चर्चा गर्दै शर्माले यसलाई कसैको जित वा हारको रूपमा हेर्न नहुने उनले बताए।
उपसभापति शर्माले विशेष महाधिवेशनबाट निर्वाचित नेतृत्व (गगन थापा) को नेतृत्वमा नेपाली कांग्रेसले सबल राष्ट्रिय शक्तिको भूमिका निर्वाह गर्ने कुरामा आफू पूर्ण दृढ रहेको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।