काठमाडौं। राष्ट्रिय महिला आयोगकी अध्यक्ष कमला पराजुलीले आफू पनि पत्रकारिताका नाममा हुने चरित्रहत्या र मानहानीबाट पीडित भएको दाबी गरेकी छन्। जनआस्था साप्ताहिकमा प्रकाशित आफ्नो बारेको समाचार कपोलकल्पित, भ्रमपूर्ण र निराधार रहेको उनको आरोप छ।
पराजुलीले पत्रकारिता र सामाजिक सञ्जालमार्फत सार्वजनिक जीवनमा रहेका महिलामाथि विभिन्न किसिमका हिंसा हुने गरेको भन्दै आफू महिला आयोगको अध्यक्ष भएकाले यस विषयमा मौन बस्न नसक्ने बताएकी छन्।
‘जनआस्था साप्ताहिकको समाचारले म स्वयं महिला आयोगकी अध्यक्ष पीडित भएकी छु । मेरो बारेमा प्रकाशित समाचार पूर्णत: कपोलकल्पित, भ्रमपूर्ण र निराधार थियो। जसमा मैले प्रेस काउन्सिलमा पनि पत्राचार गरे, सम्पादकलाई आपत्ति जनाए , समाचारको आधिकारिक स्रोत खोजी गरे। तर‚ पनि कुनै चित्तबुझ्दो जवाफ आएन खण्डन पनि आएन। जतिले समाचार पढे, त्यति सबैले समाचार पत्याए, पत्याएनन् मलाई थाहाँ भएन तर मेरो चरित्रहत्या गरियो, बदनाम गर्ने प्रयास गरियो। त्यतिबेला मैले यस्तो पित्त पत्रकारिता भनेर बेवास्ता गरें,’ उनले लेखेकी छन्।
पराजुलीले चरित्रहत्या महिला मात्रको हुने नभए पनि पितृसत्तात्मक सामाजिक सोचका कारण यसको असर महिलामा बढी पर्ने बताएकी छन्। पुरुष र महिलाका लागि यौन तथा आचरणका विषयमा समाजले फरक मापदण्ड अपनाउने गरेको भन्दै उनले आरोप वा समाचार भाइरल हुँदा महिलाको व्यक्तिगत, पारिवारिक र सामाजिक जीवनमा गम्भीर असर पर्ने उल्लेख गरेकी छन्।
‘समाचार समाजलाई सही सूचना र जानकारी दिने माध्यम हो, भ्रम सिर्जना गरेर समाज भाँड्ने हतियार होइन,’ पराजुलीले भनेकी छन्।
समाचारको स्रोत खुलाउन नपर्ने पत्रकारिताको मान्यताको दुरुपयोग गर्दै तथ्यहीन र भ्रामक सामग्री प्रकाशन–प्रसारण गर्न नहुने उनको भनाइ छ। सार्वजनिक जीवनमा रहेका व्यक्तिको निराधार चरित्रहत्या, मानहानी र बदनाम गर्ने कार्य रोक्न प्रभावकारी नियमन आवश्यक रहेको उनले बताएकी छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।