काठमाडौं– चरित्र हत्या र गोपनीयता भंग हुनेगरी समाचार प्रकाशन गरेको आरोपमा पक्राउ परेका पत्रकार किशोर श्रेष्ठको बन्दी प्रत्यक्षीकरण रिटमा शुक्रबार सुनुवाइ हुने भएको छ।
श्रेष्ठकी श्रीमती सरस्वती श्रेष्ठले उनलाई गैरकानुनी रूपमा थुनामा राखिएको दाबी गर्दै बिहीबार सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन्। उक्त रिटमा आजका लागि पेशी तोकिएको हो। रिटमार्फत श्रेष्ठलाई थुनामुक्त गर्न माग गरिएको छ।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश उमेशप्रसाद लुइँटेलको इजलासले बिहीबार श्रेष्ठलाई अनुसन्धानका लागि तीन दिन हिरासतमा राख्न अनुमति दिएको थियो।
प्रहरीले बिहीबार अपराह्न ४ बजेपछि श्रेष्ठलाई म्याद थपका लागि अदालतमा उपस्थित गराएको थियो। प्रहरीले अनुसन्धानका लागि १० दिन हिरासतमा राख्न अनुमति मागेकोमा अदालतले तीन दिनको म्याद दिएको हो।
जनआस्थाका प्रधानसम्पादकसमेत रहेका श्रेष्ठको पक्षबाट नेपाल बार एसोसिएसनका अध्यक्ष विजय मिश्र, वरिष्ठ अधिवक्ता गोविन्द बन्दी, शम्भु थापालगायतले बहस गरेका थिए।
बहसका क्रममा श्रेष्ठको पक्षले समाचारमा प्रकाशित तस्बिर यसअघि नै सामाजिक सञ्जालमा सार्वजनिक भइसकेको दाबी गर्दै त्यसकै आधारमा लगाइएको अभियोग पुष्टि नहुने जिकिर गरेका थियो। उनीहरूले श्रेष्ठलाई रिहा गरेर अनुसन्धान अघि बढाउन माग गरेका थिए।
श्रेष्ठलाई बुधबार साँझ ललितपुरस्थित निवासबाट प्रहरीले पक्राउ गरेको थियो। त्यसको भोलिपल्ट बिहीबार बिहान प्रहरीले उनको जनआस्थाको कार्यालयमा छापा मार्दै कम्प्युटरलगायतका सामग्री नियन्त्रणमा लिएको थियो।
श्रेष्ठ पक्राउ परेपछि पत्रकार महासंघलगायत पत्रकारितासँग सम्बन्धित विभिन्न संघसंस्थाले सरकारको कदमको विरोध गरेका छन्। नेपाल पत्रकार महासंघको अगुवाइमा भद्रकालीस्थित जिल्ला प्रहरी परिसर कार्यालयअगाडि समेत विरोध प्रदर्शन र धर्ना गरिएको थियो।
श्रेष्ठको पक्राउप्रति विभिन्न राजनीतिक दलका नेताहरूले पनि आपत्ति जनाएका छन्। नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायतका नेताले पत्रकार पक्राउको विरोध गर्दै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको विषयमा सरकारको ध्यानाकर्षण गराएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।