काठमाडौं– नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक शुक्रबार पनि बस्ने भएको छ।
छलफल जारी रहेकाले बैठक बिहान ११:३० बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा पुनः बस्न लागेको कांग्रेसले जनाएको छ।
बिहीबार बसेको बैठकमा १८ जना केन्द्रीय सदस्यले आफ्नो धारणा राखेका थिए। आजको बैठकको सुरुआतमै उपसभापति विश्वप्रकाश शर्माले जरुरी सम्बोधन गर्ने कार्यक्रम रहेको छ। बैठक मिडियाका लागि खुला गरिने कांग्रेसले जनाएको छ।
हिजोको बैठकले निवर्तमान सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा स्वदेश फर्किएकोमा स्वागत गर्दै स्वास्थ्यलाभको कामना गरेको थियो।
यस्तै, पत्रकार किशोर श्रेष्ठको गिरफ्तारीप्रति आपत्ति जनाउँदै कांग्रेसले प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारको ध्यानाकर्षण गराएको थियो।
बैठकले रोल्पाको थवाङमा पहिरोमा परी ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै प्रभावित क्षेत्रमा राहत तथा उद्धार प्रभावकारी बनाउन र बेपत्ताको खोजी तीव्र पार्न सरकारसँग आग्रह गरेको थियो।
आजको बैठकमा बाँकी सदस्यहरूले समसामयिक राजनीतिक तथा पार्टीका विभिन्न विषयमा धारणा राख्ने बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।