काठमाडौं– चीनका पूर्वप्रधानमन्त्री झु रोङजीको निधनप्रति नेपाल सरकारले गहिरो दुःख व्यक्त गरेको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सामाजिक सञ्जालमार्फत शोक सन्देश जारी गर्दै झु रोङजीलाई चीनका एक वरिष्ठ राजनेता तथा नेपालको असल मित्रका रूपमा स्मरण गरेको छ।
नेपाल सरकारले चीनका पूर्वप्रधानमन्त्री झु रोङजीको निधनबाट गहिरो दु:ख लागेको उल्लेख गर्दै चीन सरकार, चिनियाँ जनता प्रति समवेदना प्रकट गरेको छ ।
झु रोङजीको ९७ वर्षको उमेरमा निधन भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। उनी सन् १९९८ देखि २००३ सम्म चीनका प्रधानमन्त्री थिए। चीनको आर्थिक सुधार तथा विश्व अर्थतन्त्रमा एकीकरणको प्रक्रियामा उनको महत्वपूर्ण भूमिका रहेको थियो।
प्रधानमन्त्रीका रूपमा उनले राज्य स्वामित्वका उद्योगको पुनर्संरचना, मुद्रास्फीति नियन्त्रण तथा आर्थिक सुधारलाई अघि बढाएका थिए। चीनलाई विश्व व्यापार संगठन (WTO) मा प्रवेश गराउने प्रक्रियामा पनि उनको महत्वपूर्ण भूमिका रहेको थियो।
झु रोङजीले सन् २००१ मा नेपालको भ्रमण गरेका थिए। उनको नेपाल भ्रमणका क्रममा तत्कालीन राजा वीरेन्द्र, प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला, सांसद तथा व्यवसायीहरूसँग भेटवार्ता भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।