काठमाडौँ– स्वास्थ्य उपचारपछि नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा आज स्वदेश फर्किँदै छन् ।
उनलाई स्वागत गर्न पार्टीका इतर समूहका शीर्ष नेताहरू त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका हुन् ।
कांग्रेसको संस्थापन इतर समूहले साउन २९ गतेदेखि काठमाडौँमा आयोजना गर्न लागेको राष्ट्रिय भेला तयारी समितिका संयोजक डा. शशांक कोइरालाको नेतृत्वमा देउवालाई स्वागत गर्न शीर्ष नेताहरू विमानस्थलमा पुग्ने नेता मीन विश्वकर्माले जानकारी दिए ।
विश्वकर्माका अनुसार देउवाको स्वागतका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रवेश गर्ने गोल्डेन गेटअगाडिको खाली ठाउँ, नमस्ते गेटअगाडिको खाली ठाउँ र तिलगंगा आँखा अस्पतालअगाडिको खाली ठाउँमा कार्यकर्ता भेला हुने भएका हुन्।
कांग्रेसका पूर्वसभापति देउवा बिहीबार दिउँसो पत्नी आरजु राणासहित थाइलान्डबाट नेपाल फर्किन लागेका हुन्।
कांग्रेस नेता डा. प्रकाशशरण महतका अनुसार देउवा दम्पती आज दिउँसो साढे १२ बजे थाई एयरबाट काठमाडौँस्थति त्रिभुवन विमानस्थलमा ओर्लेनछन्।
२०८२ भदौ २४ गते जेनजी आन्दोलनका क्रममा सांघातिक आक्रमण हुँदा घाइते भएका कांग्रेसका तत्कालीन सभापति देउवा त्यही साल फागुन १३ गते राति सिंगापुर प्रस्थान गरेका थिए।
त्यतिबेला भारत भ्रमणमा रहेकी उनकी पत्नी तत्कालीन परराष्ट्रमन्त्री आरजु राणा पनि उनीसँगै गएकी थिइन्।
त्यसपछि २०८२ चैत ७ गते उनीहरूले थप उपचारका लागि आफूहरू सिंगापुरबाट हङकङ पुगेको जानकारी गराएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।