रोल्पा– रोल्पामा पहिरोले पुरिंदा मृत्यु हुनेको संख्या तीन पुगेको छ ।
९ जना बेपत्ता भएका छन् भने २ जना घाइतेको उद्धार गरिएको छ ।
रोल्पाको थबाङ गाउँपालिका-५ बोटलबारामा बुधबार राति आठ बजेर ४० मिनेट जाँदा घरमाथिबाट पहिरो झरेको थियो । पहिरोमा कमलबहादुर पुनमगरलगायत ६ वटा घर गोठहरु पुरिएका छन् ।
जिल्ला प्रहरी कार्यालय रोल्पाले दिएको जानकारी अनुसार पहिरोमा परेर थबाङ गाउँपालिका-५ का ६० वर्षीय कमलबहादुर पुनमगर, १८ वर्षीय शान्ती पुन मगर र ७१ वर्षीया मनरखी पुनमगरको मृत्यु भएको छ ।
पहिरोमा परेर २२ वर्षीय हिमाल पुनमगर र २५ वर्षीय संजय घर्तीमगर घाइते भएका छन् ।
त्यसैगरी नेपाली सेनाको श्री सूर्यदल गण रोल्पाबाट प्रमुख सेनानी दीपेश खड्काको कमान्डमा टोली र सशस्त्र प्रहरी बल आश्रित गुल्म रोल्पाबाट सशस्त्र प्रहरी नायब उपरीक्षकको कमान्डमा टोली घटनास्थल पुगेको छ। इलाका प्रहरी कार्यालय थबाङबाट प्रहरी निरीक्षक रामचन्द्र बगालेको कमान्डमा पनि प्रहरी टोली उद्धारमा खटिएको छ।
अविरल वर्षाका कारण पहिरो थप खस्न सक्ने जोखिम कायमै छ। जोखिमका बिच पनि सुरक्षाकर्मी र स्थानीयवासीले बेपत्ताहरूको खोजी तथा उद्धार कार्य निरन्तर जारी राखेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।