काठमाडौँ – नेपाली कांग्रेसको संस्थापन इतर समूहको राष्ट्रिय भेला काठमाडौँको सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा हुने भएको छ ।
राष्ट्रिय भेला आयोजक समितिको प्रचार प्रसार उपसमितिका संयोजक मीन विश्वकर्माले साउन २९ गतेदेखि ३१ गतेसम्मका लागि तय गरिएको भेला मिराकल पार्टी प्यालेसमा गर्ने निश्चित भएको जानकारी दिए ।
राष्ट्रिय भेलाको उद्घाटन समारोह शुक्रबार दिउँसो १ बजे सुरु हुने पनि बताए ।
राष्ट्रिय भेला पूर्वसभापति शेरबहादुर देउवाको प्रमुख आतिथ्यतामा तीन दिनसम्म चल्ने बताइएको छ । भेलामा पाँच हजार नेता–कार्यकर्ताहरूको उपस्थिति हुने अनुमान इतर समूहको दाबी छ ।
कांग्रेस नेता डा. प्रकाशशरण महतकाअनुसार पूर्वप्रधानमन्त्री देउवा बिहीबार मध्यान्ह साढे १२ बजे काठमाडौं अवतरण हुनेछन् । उनी थाई एयरबाट स्वदेश फर्किन लागेका हुन् ।
जेनजी आन्दोलनका क्रममा भएको सांघातिक आक्रमणमा परी घाइते भएका पूर्वसभापति देउवा १३ फागुनको राति सिंगापुर एयरलाइन्सको उडानबाट सिंगापुर गएका थिए । उनी ७ चैत २०८२ मा सिंगापुरबाट थप उपचारका लागि भन्दै हङकङ पुगेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।