काठमाडौं– नेपाली कांग्रेसका निवर्तमान सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा लामो स्वास्थ्य उपचारपछि बिहीबार स्वदेश फर्कने भएका छन्।
स्वास्थ्य उपचारका क्रममा लामो समय विदेशमा रहेका देउवा नेपाल फर्किन लागेसँगै कांग्रेसका नेता तथा कार्यकर्ताले उनको स्वागतका लागि विशेष तयारी गरेका छन्।
कांग्रेसको राष्ट्रिय भेला तयारी समितिका संयोजक डा. शशांक कोइरालाको नेतृत्वमा निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का, नेता डा. शेखर कोइरालासहित पूर्वपदाधिकारी, केन्द्रीय सदस्य तथा अन्य नेताहरू विमानस्थल पुग्ने नेता मीन विश्वकर्माले जानकारी दिएका छन्।
‘उहाँ (देउवा)लाई स्वागत गर्न राष्ट्रिय भेला आयोजक समितिका संयोजक डा. शशांक कोइरालाको नेतृत्वमा निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का, नेता डा. शेखर कोइरालासहितका पूर्वपदाधिकारी, केन्द्रीय सदस्यहरूसहितको ठुलो समूह उहाँको स्वागतका लागि विमानस्थलमा पुग्छौँ ।’ विश्वकर्माले भने ।
उनका अनुसार देउवा थाइल्याण्डबाट थाई एयरको उडानमार्फत बिहीबार मध्याह्न १२ बजे काठमाडौं अवतरण गर्ने कार्यक्रम छ।
स्वास्थ्य उपचारका लागि गत फागुन १३ गते सिंगापुर गएका देउवा त्यहाँको उपचारपछि थप स्वास्थ्य परीक्षण तथा उपचारका लागि हङकङ पुगेका थिए। त्यसपछि थाइल्याण्ड हुँदै उनी नेपाल फर्कन लागेका हुन्।
गत वर्षको राजनीतिक घटनाक्रमका क्रममा देउवा दम्पती घाइते भएपछि उनीहरूले नेपालमा प्रारम्भिक उपचार गराएका थिए। त्यसपछि स्वास्थ्यसम्बन्धी थप उपचार आवश्यक परेपछि देउवा विदेश गएका थिए।
स्वदेश फर्किएलगत्तै देउवा कांग्रेसको आन्तरिक राजनीतिमा सक्रिय हुने तयारीमा छन्। कांग्रेसको एक समूहले साउन २९ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्न लागेको राष्ट्रिय भेलालाई देउवाले सम्बोधन गर्ने कार्यक्रमसमेत तय भएको जनाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।