जनकपुरधाम– वरिष्ठ साहित्यकार डा. राजेन्द्र बिमलको निधन भएको छ ।
बिमलको ७९ वर्षको उमेरमा राति पौने १ बजे निधन भएको उनका कान्छा छोरा डा.विभाष लाभले जानकारी दिए ।
वरिष्ठ साहित्यकार डा. बिमलको निधनले यतिबेला जनकपुरधाम शोक मग्न भएको छ। सोमबार राति साढे ११ बजेतिर कुराकानी गर्दागर्दै बिमल अचानक बिरामी परेका थिए । उपचारको लागि नजिकै अस्पतालमा लगिएको थियो । उपचारको क्रममै उनको निधन भएको हो ।
अहिले उनको प्रार्थिव शरीर श्रद्धाञ्जलीको लागि जनकपुरधाम उपमहानगरपालिका १० देवीचोकस्थित आफ्नै निवासमा राखिएको छ ।
बिमल नेपाली, मैथिली, अंग्रेजी भाषामा थुप्रै साहित्यिक विद्यामा कलम चलाएका छन् । भाषा विज्ञानमा विद्यावारिधि गरेका उनले नेपाली, मैथिली र हिन्दी विषयमा स्नाकोत्तर रहेका थिए । उनी २०२९ सालदेखि नै त्रिभुवन विश्वविद्यालयमा नेपाली विषयमा अध्यापनमा जोडिएका थिए । उनी जगदम्बा श्री पुरस्कार, मधुपर्कलगायत थुप्रै सम्मानबाट विभूषित छन् । नेपाली र मैथिली, अंग्रेजी र हिन्दी भाषामा थुप्रै कृति, गीत, कथा र कविता लेखेका डा. विमलको जन्म सन् १९४७ मार्च २६ मा जनकपुर–१० स्थित देवीचोकमा भएको थियो । डा. विमल १२ वर्षको छँदा नै उनको पहिलो लघुकथा आर्यावर्त हिन्दी दैनिकमा प्रकाशित भएको थियो । १५ वर्षको उमेरमा आर्यावर्तमै प्रकाशित ‘कचनार के पेंड’ कथा निकै लोकप्रिय भएको थियो । त्यसै वर्ष मिथिला मिहीर (मैथिली मासिक)मा ’मुईल बच्चा’ कथा प्रकाशित भएको थियो । एसएलसी परीक्षापछिको फुर्सदको समयमा उनले ‘चान अहाँ उदास छी’ उपन्यास लेखेका थिए ।
सन् १९६६ पछि उनी गोरखापत्र, पञ्चवाणी, बैदेहीलगायतका पत्रपत्रिकामा लेख्न थालेका थिए । राजेन्द्र विमलका कथाहरू (कथासंग्रह), वन्धनबाट मुक्ति कथा ०७३ को पाठ्यक्रमअनुसार कक्षा ९ को अनिवार्य नेपाली विषयमा समावेश गरिएको छ । नवनीत नेपाल परिचये (परिचय, वि.सं. २०४४) प्रकाशित छ । विमलको ‘लंका दहन’ कथा स्नातक तहको अनिवार्य नेपाली विषयको पाठ्यक्रममा समावेश गरिएको छ । उनको आजै दिउँसो २ बजे जनकपुरधाम स्थित स्वर्गद्वारीमा अन्त्येष्टि गरिने छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।