काठमाडौं– नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सांसद गणेश विश्वकर्माले दलित समुदायको उत्थानका लागि सरकारले ठोस कदम चाल्नुपर्ने माग गरेका छन् ।
प्रतिनिधिसभाको सोमबारको बैठकमा बोल्दै उनले दलित अधिकार दशक घोषणा गरी संविधानको भावना अनुसार एकीकृत कानुन निर्माण गर्न सरकारसँग आग्रह गरे ।
नेपालको कुल जनसङ्ख्याको करिब एक चौथाइ हिस्सा ओगटेको दलित समुदायका लागि विगतका सरकारले विभिन्न कार्यक्रम ल्याए पनि अपेक्षित उपलब्धि हासिल हुन नसकेको सांसद विश्वकर्माको भनाइ छ । उनले दलित विकास प्राधिकरण गठन गरी पर्याप्त बजेटसहित योजना कार्यान्वयन गर्नुपर्ने बताए ।
कमैया, कमलरी, हलिया र हरुवा–चरुवा मुक्तिको घोषणा भए पनि पुनःस्थापनाको काम अझै अधुरो रहेको भन्दै उनले २०३० भित्र सबै मुक्त श्रमिकको पुनःस्थापना सम्पन्न गरी नेपाललाई बधुवा श्रममुक्त मुलुकका रूपमा स्थापित गर्नुपर्ने धारणा राखे ।
सांसद विश्वकर्माले दलित भूमिहीन र सुकुम्वासीको समस्या समाधानका लागि दीर्घकालीन योजना आवश्यक रहेको बताए । उनले सुनसरीको देवानगन्जलगायत क्षेत्रमा भएका पछिल्ला झडपले साम्प्रदायिक सद्भावमा असर पार्न सक्ने भन्दै घटनाको संरचनागत समाधान खोज्न सरकारलाई आग्रह गरे ।
उनले लोकप्रियताका लागि मात्रै शहीद घोषणा र क्षतिपूर्ति वितरण गर्ने प्रवृत्तिले समस्या समाधान नहुने भन्दै दीर्घकालीन नीति आवश्यक रहेको बताए ।
यस्तै, प्रधानमन्त्रीको सीमा सम्बन्धी अभिव्यक्तिको आलोचना गर्दै सांसद विश्वकर्माले सुस्ता, कालापानी, लिपुलेक र लिम्पियाधुरा लगायतका सीमा विवादलाई सरकारले गम्भीरतापूर्वक लिनुपर्ने माग गरे । उनले राष्ट्रिय हित र सीमा सुरक्षाका विषयमा स्पष्ट धारणा राख्न सरकारको ध्यानाकर्षण गराए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।