काठमाडौँ– नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले सिंहदरबारको नाम परिवर्तन गर्नुपर्ने भनी भइरहेको बहसप्रति असन्तुष्टि व्यक्त गरेका छन् ।
सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद हरि ढकालले सिंहदरबारको नाम फेर्नुपर्ने बताएका थिए ।
त्यसको प्रतिवाद गर्दै एमाले महासचिव पोखरेलले पुर्खाहरूले सिंहलाई किन शक्ति र पहरेदारको प्रतीक मानेर राज्यको मुख्य संरचना र मठ मन्दिरमा सजाएका हुन् भन्ने कुराको गम्भीर अर्थ रहेको बताएका छन् ।
सामाजिक सञ्जाल फेसबुकमा पोखरेलले जङ्गलका राजा सिंहका रोचक तथ्य र स्वभावहरू प्रस्तुत गर्दै सिंहको अनुशासन र रक्षात्मक क्षमतालाई राज्यको सुशासनसँग जोडेका छन् ।
उनले सिंहका बारेमा ६ विशेषता उल्लेख गरेका छन् । सिंह एक्लै नबसी एउटा निश्चित र अनुशासित समूहमा बस्ने, आफ्नो क्षेत्रको रक्षामा सिंह अभूतपूर्व रूपमा सचेत हुने, ८ किलोमिटर टाढासम्म सुनिने उसको गर्जनले शक्तिको प्रदर्शन गर्ने, पोथीले शिकार गर्ने र समूहको नेताले पहिलो भाग ग्रहण गर्ने, दिउँसो आराम गरेर ऊर्जा बचाउने र राति सक्रिय हुने, बिनाकारण आफ्नो इलाकाभन्दा बाहिर नभौँतारिने सिंहका विशेषता रहेका पोखरेलले उल्लेख गरेका छन् ।
वर्तमान समयमा नेपाल राज्य आफैँमा कमजोर बनिरहेका बेला शक्तिको प्रतीक मानिने सिंहदरबार जस्ता ऐतिहासिक बिम्बहरूमाथि अनास्था र अविश्वास पैदा गर्नु उचित नहुने पोखरेलको भनाइ छ । उनले राज्यका संरचना र नामहरू केवल नाम मात्र नभएर ती संस्थाको शक्ति र गम्भीरताको पहिचान भएको समेत उल्लेख गरेका छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।